जेन–जीले ताला फोडेर खोलेपछि काष्ठमण्डप हेर्नेको भीड

नयाँ कि पुरानै मूर्ति राख्ने भन्नेमा सर्वोच्चमा मुद्दा कायमै

4.79k
Shares

काठमाडौं ।

जेन–जी आन्दोलनकारीले ताला फोडर खुला गरेको काष्ठमण्डपभित्र गोरखनाथको मूर्ति र काष्ठमण्डप हेर्नेको घुइँचो बढेको छ । हनुमानढोका दरबार घुम्न आएका पर्यटकहरूको मुख्य घुम्ने स्थलको रूपमा काष्ठमण्डप रहेको छ ।

गोरखनाथको पुरानो मूर्ति हटाएर नयाँ मूर्ति राखेको विषयमा सर्वोच्चमा मुद्दा रहेकै बेला नयाँ मूर्तिसहित काष्ठमण्डप खुला गरेको छ । २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त काष्ठमण्डप २०७६ बाट पुनर्निर्माण सुरु भएको थियो ।
तत्कालीन प्रदेश सांसद राजेश शाक्यको संयोजकत्वमा पुनर्निर्माण सम्पन्न भएको थियो । सो ०८० असोज १५ गते कामपालाई हस्तान्तरण गरिएको थियो । जेन–जी आन्दोलनदेखि खुला भएको उक्त सम्पदा अवलोकन गर्ने, गोरखनाथको दर्शन गर्ने र सेल्फी खिच्नेको भीड लागेको छ ।

सर्वोच्चको पुरानै मूर्ति प्रतिस्थापन गर्नुपर्ने आन्तरिम आदेशविपरीत समितिले गोरखनाथको नयाँ मूर्ति राखेको विषयमा विवाद उत्सर्गमा पुगेको थियो । मुद्दा परेपछि पुनर्निर्माण सम्पन्न भएर पनि काष्ठमण्डप बन्द थियो ।अभियन्ता गणपतिलाल श्रेष्ठले पुरातत्व विभागको कालोकोठरीमा राखेको गोरखनाथको मूर्ति यथावत् राख्नुपर्ने बताउनुभयो । अस्तित्व नै मेटिने गरी पुरानो मूर्ति हटाएर नयाँ मूर्ति प्रतिस्थापन गर्नेपर्ने विषय टुंगो नलागेसम्म काष्ठमण्डपको इतिहास नरहने बताउनुभयो ।


उहाँले भन्नुभयो– ‘यही अवस्थामा खोलेर केही औचित्य छैन, पर्यटकले जे हेर्न आयो त्यही नभएपछि त्यसको के मतलब भयो र । मूर्तिको विषयमा विवाद भइरहँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०७८ चैत २१ गते काष्ठमण्डप उद्घाटन गर्नुभएको थियो ।
गोरखनाथको नयाँ मूर्तिसँगै चार गणेशको मूर्ति पनि अनावरण भएको थियो । ०७५ जेठ २४ गते बसेको कामपा कार्यपालिका बैठकले उपभोक्ता समितिबाट काष्ठमण्डप पुनर्निर्माण गर्ने निर्णय भएको थियो । लगत्तै काम सुरु गर्न ५० लाख रुपियाँ उपलब्ध गरेको थियो । लगत्तै ०७५ र ०७६ सालमा ५–५ करोड र ०७८ मा १ करोड गरी ११ करोड ५० लाख रुपियाँ उपलब्ध गराएको थियो ।

सम्पदा अभियन्ताले गोरखनाथको मूर्ति परिवर्तन नगर्न र बेवारिसे अवस्थाका चार गणेशका मूर्ति काष्ठमण्डपमा राख्न गरेको मागको सुनुवाइ नभएपछि सर्वोच्च पुगेका थिए । अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारीसहित जनहित संरक्षण मञ्चका सदस्य श्रद्धा सुमन आचार्य, सोही संस्थामा कार्यरत अर्वण चौधरीलगायत सर्वोच्च पुगेका थिए ।

उनीहरूले पुरातत्व विभाग, काष्ठमण्डप पुनर्निर्माण समिति, हनुमानढोका दरबार हेरचाह अड्डा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति पर्ययटन तथा नागरिक उड्ययन मन्त्रालय, गृह मन्त्रालय, काठमाडौं महानगरपालिका, काठमाडौं महानगरपालिका–२० लाई विपक्षी बनाएर २७ पुसमा सर्वेच्वमा रिट दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ जारी छ । तर जेन–जी आन्दोलनमा काष्ठमण्डप खुला गरेको छ । अब कसैले बन्द गर्नेछैन ।

काष्ठमण्डप घुम्न आउने अघिकांशले निर्माण भएपछि प्रशंसा गर्दै भन्ने गरेका छन्– बन्द थियो खुला भयो, जसले खोल्यो त्यसलाई धन्यवाद । काष्ठमण्डप खुला भएपछि त्यसको कामपा पर्यटक प्रहरी र स्थानीयले संरक्षण गरेका छन् ।