काठमाडौं ।
जेन–जी आन्दोलनपछिको राजनीतिक उथलपुथलबीच नेकपा एमालेले शनिवार राजधानीमा शक्ति प्रदर्शन गर्दै सरकारविरुद्ध कडा आक्रोश पोखेको छ ।
वागमती प्रदेश कमिटीद्वारा आयोजना गरिएको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीदेखि महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरूले वर्तमान ‘सुशीला कार्की सरकार’ लाई असंवैधानिक, अलोकतान्त्रिक र जनमतविपरीत गठन भएको आरोप लगाएका छन् । भीडले भरिएका सडक र चोकहरूमा साढे दुई घण्टासम्म चलेको सभामा एमालेलाई लक्ष्य बनाइएका पछिल्ला घटनाहरू, जेन–जी हिंसा, आगामी निर्वाचन र देशको समग्र शासन व्यवस्थाबारे विभिन्न नेताहरूले धारणा राखेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण पार्टी अध्यक्ष केपी शर्मा ओलीको लामो र आक्रामक भाषण थियो । सुरुदेखि अन्त्यसम्म ओलीले सरकारलाई ‘कृतिम रूपमा खडा गरिएको सत्ता संयन्त्र’ को उपमा दिँदै सरकारको वैधानिकता नै प्रश्नको घेरामा रहेको दाबी गर्नुभयो । यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो, ओलीले भन्नुभयो– ‘संविधानले कुनै हालतले यस्तो सरकारलाई उचित ठह¥याउन सक्दैन । यसको संवैधानिक परीक्षण अपरिहार्य छ ।’ जेन–जी आन्दोलनलाई ओलीले योजनाबद्ध षड्यन्त्रको परिणाम भएको बताउँदै मानिसको पुस्तालाई जोडेर जेन–जी भनिएकोमा आफू असहमत रहेको उल्लेख गर्नुभयो । जेन–जी शब्दलाई उहाँले कृत्रिम सामाजिक इन्जिनियरिङको नाम दिनसमेत भ्याउनुभएको थियो ।
‘जेन–जीका नाममा युवाहरूलाई दिग्भ्रमित पारियो, दुरुपयोग गरियो । हामी भ्रष्टाचारविरुद्ध लडिरहेका थियौँ, त्यसै बेला देशलाई जलाएर खरानी पार्ने प्रयास भयो’ –ओलीको आरोप थियो । ओलीले अभिव्यक्ति स्वतन्त्रता र वाक् स्वतन्त्रताको पक्षमा आफूहरू सधैं उभिएको दाबी गर्दै अहिलेको सरकारले प्रहरी र सुरक्षानिकायलाई पनि पार्टीगत दृष्टिले हेर्न थालेको टिप्पणी गर्नुभयो । ‘सरकारलाई अब प्रहरी पनि एमाले, सेना पनि एमाले, अदालत पनि एमालेजस्तो देखिन थालेको छ । रेबिज लागेको जनावरले जताततै पानी देखेजस्तै अवस्था भएको छ’ –ओलीले कटाक्ष गर्नुभयो । उहाँले फागुन २१ मा निर्वाचन हुने सम्भावनालाई पनि सरकारको ‘बनावट’को रूपमा चित्रण गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गर्नुभयो ।
सभामा एमाले महासचिव पोखरेलले पनि सरकारलाई तीव्र आक्रमण गर्दै वर्तमान सत्ता संयन्त्रले देशको स्थायित्वभन्दा विपक्षी दमनलाई प्राथमिकता दिएको आरोप लगाउनुभयो । ‘अहिलेको सरकारले जनताको म्यान्डेट होइन, सत्ता जोगाउने कुटिल खेललाई प्राथमिकता दिएको छ’, पोखरेलले भन्नुभयो– ‘जेन–जी घटनाको बहानामा युवाहरूलाई भड्काइयो र त्यसको राजनीतिक लाभ लिन खोजियो ।’ पोखरेलले एमाले नेतृत्वमा देश स्थिर भएको तर वर्तमान गठबन्धन आएपछि राज्य संयन्त्र अस्तव्यस्त बन्दै गएको दाबी गर्नुभयो ।
वागमती प्रदेश इन्चार्ज राजन भट्टराईले जेन–जी घटनालाई सरकारले राजनीतिकरण गरेको आरोप लगाउँदै भन्नुभयो– ‘कानुनले गर्नुपर्ने काम राजनीतिक निर्देशनबाट भयो, युवा आन्दोलनलाई अपराधीकरण गरेर सरकार आफूलाई सुरक्षित बनाउन खोज्दै छ ।’
वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले वर्तमान सरकारलाई ‘नारी नेतृत्वको नाममा जनमतको अपमान’ गरेको आरोप लगाउनुभयो । उहाँले सुशीला कार्की नेतृत्वलाई ‘नारी सशक्तीकरणको आवरण’ भन्दै जनताले दिने म्यान्डेटको दुरुपयोग गरेको टिप्पणी गर्नुभयो । एमालेको वागमती संरचना सुदृढ मानिएको छ । पछिल्लो समय जेन–जीका घटनापछि एमाले कार्यकर्तामा ‘राजनीतिक प्रतिरोध’ को भावना बढेको देखिन्छ । सभास्थलमा काठमाडौं उपत्यकाका धेरै क्षेत्रबाट माइक्रो, बस र मोटरसाइकलमा पार्टी झण्डा लहराउँदै कार्यकर्ता ठूलो संख्यामा पुगेका थिए ।
सभा आयोजना समितिका एक सदस्यका अनुसार, उपत्यकाका सबै ३ जिल्लाका कमिटीलाई विशेष लामवद्धता र वर्तमान सरकारप्रति बढ्दो असन्तुष्टिलगायतका कारणले सभामा भीड बाक्लो भएको बताइएको छ । सभाको समग्र सन्देश एउटै थियो, सरकार असंवैधानिक छ, चुनाव अनिश्चित छ, र एमाले अब प्रतिरोधमा उत्रिन्छ ।
राजधानीमा एमालेले गरेको शनिवारको शक्ति प्रदर्शनले नेपालको वर्तमान राजनीतिमा फेरि तनावको संकेत दिएको छ । जेन–जी आन्दोलनपछि एमालेजस्ता ठूला दल सडकमा फर्किन थालेको छ भने सरकार–विपक्षबीचको आरोप–प्रत्यारोप झनै तीव्र हुँदै गएको छ । राजनीतिक स्थिरता, आगामी निर्वाचन र संविधानको व्याख्या, यी सबै आगामी केही महिनाको मुख्य विषय बन्ने संकेत शनिवारको भीड र भाषणहरूले स्पष्ट पारेको छ । एमालेले अब प्रतिरोध र प्रतिवादको मार्ग रोजेको छ ।











प्रतिक्रिया