बेलायतमा भेटिएको कुमारी घरको तोरण यथास्थानमा पुन:स्थापना


काठमाडौं

कुमारी घरबाट चोरिएर बेलायत पुगेको पुरानो तोरण शुक्रबार विधिवत् पूजा गरी कुमारी घरमा पुन:स्थापना गरिएको छ । बेलायतको बाराकाट संग्रहालयले फिर्ता गरेपछि राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको उक्त तोरणलाई संग्राहलयपरिसरभित्रै श्रीखण्ड तरुमूल महाबिहारका राजगुरु मञ्जुश्री रत्न वज्राचार्यले विधिवत् पूजा गरी राष्ट्रिय संग्रहालयबाट कुमारी घरमा ल्याई यथास्थानमा पुनर्स्थापना गरिएको हो।

उक्त शोभा यात्रामा वडा नं. २३ का विभिन्न बाजा खल:सहित पूर्व मन्त्रीद्वय विराज भक्त श्रेष्ठ तथा शैलेन्द्र वज्राचार्य,  काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता डंगोल, वडा अध्यक्ष मचाराजा महर्जन, सम्पदा अभियन्ताहरू, सम्पदा विभागकी निर्देशक कुमारी राई,  श्रीखण्ड तरुमूल महाबिहारको  संरक्षण तथा सञ्चालन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यलगायत महाविहारका सदस्यहरूको  सहभागिता थियो।

कुमारी घरका संरक्षक गौतम शाक्यका अनुसार यी २०५६/०५७ सालतिर बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् । ३ महिनाभित्र ३ वटै तोरण हराएपछि पुरातत्व विभागमा जानकारी दिई नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो । तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन् । प्रतिकृति तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपियाँ खर्च भएको बताइएको थियो । 

कुमारी वहालको हराएका तीन तोरणमध्ये एउटा बेलायतको बाराकाट संग्रहालयमा भेटिएपछि २०७८ चैत ४ गते बेलायतले लण्डनस्थित बेलायतका लागि नेपालको दूताबासलाई हस्तान्तरण गरेको थियो । त्यसपछि उक्त तोरण नेपाल ल्याएर छाउनी संग्रहालयमा बुझाइएको थियो ।