काठमाडौँ।
बाँके जिल्लामा स्पा, मसाज सेन्टर र केही खाजा घरहरूमा यौनजन्य अवैध गतिविधि बढिरहेको गुनासो आएपछि प्रहरीले निगरानी कडा पारेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज र कोहलपुर क्षेत्रमा अनुगमन गर्दा केही स्थानमा अनैतिक कार्य भइरहेको फेला परेपछि कडा कारबाहीका लागि विशेष अभियान सञ्चालन गरेको हो।
प्रहरी नायब उपरिक्षक दीपक पातलीका अनुसार अनुगमनका क्रममा स्पा, मसाज सेन्टर र खाजा घरमा छापा मार्दा ११ महिला र ७ पुरुष गरी १८ जनालाई नियन्त्रणमा लिइएको छ। यसअघि केही दिनअघि मात्रै नेपालगन्जका चार होटलमा गरिएको छापामा वेश्यावृत्तिमा संलग्न ४५ जनालाई पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जिसीले यी घटनापछि होटल, स्पा, मसाज सेन्टर र क्यासिनोमा समेत निगरानी थप कडा बनाइएको बताउँदै अवैध क्रियाकलाप भेटिए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। स्थानीयका अनुसार प्रहरी नेतृत्व परिवर्तनसँगै जिल्लामा गैरकानुनी कार्यविरुद्ध प्रहरी सक्रिय बनेको देखिएको छ।











प्रतिक्रिया