धुन्चे, रसुवा।
दक्षिणी रसुवाको नौकुण्ड क्षेत्रमा सञ्चालन गरिएको जिल्ला स्तरीय संयुक्त बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका उपभोग्य वस्तुहरू नष्ट गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाको नेतृत्वमा नौकुण्ड गाउँपालिका–२ का लारच्याङ, यार्सा र युव्रा क्षेत्रका करिब १० वटा दैनिक उपभोग्य तथा खुद्रा किराना पसलहरूमा गरिएको अनुगमनका क्रममा अधिकांश व्यवसायीमा उपभोक्ता हित तथा अधिकारसम्बन्धी चेतना न्यून रहेको पाइयो। प्रचलित कानुन तथा स्वीकृत मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न पहिलो पटक चेतावनीसहित निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ।
त्यसैगरी, नौकुण्ड गाउँपालिका–३ पारच्याङमा रहेका ५ वटा व्यापारिक प्रतिष्ठानले आवश्यक मापदण्ड पूर्ण रूपमा पालना नगरेको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सामान्य जरिवाना गरिएको छ। अनुगमनकै क्रममा म्याद गुज्रिएका करिब ३० हजार रुपैयाँ बराबरका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री जफत गरी टोलीकै रोहवरमा नष्ट गरिएको जिल्ला स्तरीय अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।
अनुगमन कार्य नौकुण्ड गाउँपालिकाको समन्वय र सहजीकरणमा, सहायक प्रजिअ अधिकारीको संयोजनमा सम्पन्न भएको थियो। अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष, कोलेनिका, उद्योग तथा वाणिज्य कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।













प्रतिक्रिया