२३ जेन–जी समूहले भन्यो– ‘माग पूरा नगरे प्रधानमन्त्री फिर्ता हुनुपर्छ’


काठमाडौं ।

विभिन्न २३ वटा जेन–जी समूहहरूले आफ्ना मागहरू पूरा नगरिए प्रधानमन्त्री सुशील कार्की सरकारबाट फिर्ता हुनुपर्ने आवश्यकता औल्याउँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले राष्ट्रपति पौडेललाई पाँचबुँदे ज्ञापन पत्र बुझाउँदै प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्न माग गरेका छन् । जेन–जी विद्रोहको जगमा बनेको सरकारले केवल एक थान चुनावमात्रै गराउने कुरा स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख छ । सरकार दिशाहीन अवस्थामा रहेको उनीहरूले आरोप लगाउँदै आफ्नो पाँच बुँदे माग छिटोभन्दा छिटो पूरा गर्न दबाब दिएका छन् ।

‘यो विद्रोह र शाहदत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन । विद्रोहमा संलग्न जेन–जीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ । यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न नसकेमा सरकारलाई फिर्ता बोलाई आफूहरूको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन राष्ट्रपतिलाई आग्रह गरिएको छ । अन्यथा यस सरकारको विरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्ने चेतावनी पनि ज्ञापन पत्रमा दिइएको छ ।

ज्ञापनपत्र बुझाउनेमा जेन–जी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेन–जी, ऋणइी एसोसिएसन नेपाल, जेन–जी वाइ युनाइटेड, रियल जेन–जी, जेन–जी सभा, जेन–जी पार्लियामेन्ट, स्वतन्त्र जेन–जी नेपाल, जेन–जी मुभमेन्ट नेपाल र जेन–जी एलायन्सलगायत छन् ।

ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, जेन–जी आन्दोलनमा नरसंहार गर्नेलाई कारबाही, जेन–जी घाइतेहरूको उपचार र जेन–जीका सहिद परिवारको उचित क्षतिपूर्ति र भरणपोषणको पनि माग गरिएको छ ।