प्रशासन र जेन–जीबीच आज वार्ता हुँदै

सिमरामा बिहीबार पनि तनाब

1.6k
Shares

-चार प्रदर्शनकारी र ६ प्रहरी घाइते
-दुई प्रदशर्नकारीको स्थिति गम्भीर

बारा ।

जेन–जी समूहको प्रदर्शनका कारण बाराको सिमरा बिहीबार पनि तनाबग्रस्त बनेको छ । बुधबारको घटनामा संलग्न भएको आरोपमा नेकपा एमालेका कार्यकर्ता जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमुदिन अन्सारीलाई प्रहरीले पक्राउ गरे पनि घटनाका मुख्य दोषी अरविन्द साहलाई पक्राउ नगरिएको भन्दै उनीहरूले प्रदर्शन सुरु गरेका हुन् । जेन–जी युवाले युवा संघका कार्यकर्ता साह, वडा अध्यक्ष श्रेष्ठ र अन्सारीसहित सात जनाविरुद्ध बुधवार साँझ किटानी जाहेरी दिएका थिए ।

प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । तर, युवाहरूले कफ्र्युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका थिए ।

बुधबार भएको कुटपिट घटनामा संलग्न एमाले कार्यकर्ताहरूलाई पक्राउ गर्नुपर्ने माग राखेर राजमार्ग अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएका जेन–जी युवा र राजमार्ग खुलाउन पुगेका प्रहरीबीच पटकपटक झडप भएको थियो । युवाहरूले सिमरास्थित त्रिभुवन राजपथ अवरुद्ध पारेर बिहान ११ बजेबाट प्रर्दशन गरेका हुन् ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा जेन–जी समूहका लिलाहरि सापकोटा, श्री चौधरी, सन्देश घिमिरे र निशान श्रेष्ठ घाइते हुनुभएको छ । उहाँहरूमध्ये सन्देश र निसानको अवस्था गम्भीर देखिएकाले नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज रेफर गरिएको छ । अन्य घाइते युवाहरूको सिमरास्थित अस्पतालमा उपचार भइरहेको जेन–जी कपिल खरेलले जानकारी दिनुभएको छ ।

स्थानीयका अनुसार झडप सुरु हुँदा सयौँ युवाहरू सडकमा उत्रिएर प्रहरीमाथि ढुंगा प्रहार गर्दै अघि बढेका थिए । घटनामा ६ जना प्रहरी पनि घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्याँस र २ राउन्ड हवाई फायरिङ गरेको छ भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि प्रहरी पछाडि हटेपछि युवाले प्रहरीलाई केहीबेर लेखेटेका थिए ।
एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत गर्न जाँदै गरेका एमाले कार्यकर्ता र विरोध गर्न भेला भएका जेन–जी युवा समूहबीच बुधबार भएको झडपमा जेज–जी समूहका बारा जिल्ला संयोजक सम्राट उपाध्यायसहित घाइते बनेपछि सिमरामा तनाव बढेको छ ।

शान्ति–सुरक्षा चुनौती बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेन–जी समूहका प्रतिनिधिसँग फोन सम्पर्क गरी वार्ताको तयारी अघि बढाउनुभएको छ । स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ ।

यसैबीच जेन–जी युवाहरूले आज शुक्रवारको लागि प्रदर्शन स्थगित गरेका छन् । कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्ने प्रशासनले दिएको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन् । जेन–जी कपिल खरेलले प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको पुष्टि गर्दै प्रहरी, प्रशासन र जेन–जीबीच शुक्रवार वार्ता हुने जानकारी दिनुभयो ।

प्रर्दशन रोकिएपछि सिमरामा यातायात र पसल चालू भएको अनि अवस्था सामान्य बनेको छ ।