विशेषज्ञ चिकित्सकको तह घटाइएको सूचनाप्रति चिकित्सक संघको आपत्ति


काठमाडौँ। 

नेपाल चिकित्सक संघले निजामती कर्मचारी अस्पतालले मंसिर १ गते प्रकाशित गरेको करार सेवाका लागि चिकित्सक मागसम्बन्धी सूचनाप्रति कडा आपत्ति जनाएको छ । संघका अनुसार अस्पतालले एमडी, एमएस, एमडीएस उत्तीर्ण विशेषज्ञ चिकित्सकलाई आठौँ तहमा राखेर सूचना जारी गरेकोमा गम्भीर आपत्ति छ ।

सरकारले चिकित्सकको शैक्षिक योग्यताअनुसार तह निर्धारणका लागि बनाएको व्यवस्था अनुसार एमबीबीएस उत्तीर्ण चिकित्सक आठौँ तह र एमडी, एमएस, एमडीएस उत्तीर्ण विशेषज्ञ चिकित्सक नवौँ तह मा नियुक्त हुने कानुनी प्रावधान छ । तर निजामती कर्मचारी अस्पतालले प्रकाशित सूचना उक्त व्यवस्था विपरीत रहेको संघको आरोप छ ।

संघका महासचिव डा. सञ्जीव मिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारकै निर्णयअनुसार विशेषज्ञ चिकित्सक नवौँ तहमा नियुक्त हुने व्यवस्था स्पष्ट छ । तर अस्पतालले विशेषज्ञलाई आठौँ तह सरह राख्नु नियम, प्रक्रिया र शैक्षिक योग्यताको मान्यताको खुला उल्लंघन हो ।” संघले अस्पताललाई सूचना तुरुन्त सच्याउन आग्रह गर्दै, सो नगरे आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । अस्पतालले भने यस विषयमा अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।