मन्त्री कुलमानले सहमति पालना नगर्दा १५ दिनै फेरि थुप्रियो फोहोर

3.76k
Shares

काठमाडौं ।

सहरी विकासमन्त्री कुलमान घिसिङले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कमजोरी सुधार भइरहेको अवस्थामा बन्चरेडाडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न आग्रह गरेकै भोलिपल्ट स्थानीयले फेरि फोहोर रोकेका छन्् ।
मन्त्री घिसिङसँग सहमति भएको हिजो बुधबार १५ दिन पुगेको छ । स्थानीयले सम्झौता भएको १५ दिनकै दिन फोहोर रोक्ने धम्की दिएका थिए । स्थानीयले फोहोर रोक्ने धम्की दिएपछि मंगलवार मन्त्री घिसिङले स्थानीयसँग कुरा गर्नुभएको थियो । मन्त्रीले ऊर्जा मन्त्रालयमा अनौपचारिक बैठक बस्दै गर्दा स्थानीयसँग कुरा गर्नुभएको थियो ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव, सहरी विकास विभागका महानिर्देशक, काठमाडौंका सीडीयो, गृह मन्त्रालय र प्रहरीका प्रतिनिधिको उपस्थिति थियो । ‘मन्त्रीज्युले स्थानीयलाई फोन गरेर फोहोर व्यवस्थापनमा सिंगै राज्य गम्भीरताका साथ अघि बढेको बताउँदै यस्तो अवस्थामा अवरोध नगर्न आग्रह गर्नुभयो’ –मन्त्रीसँग भएका बैठकबारे एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

उहाँका अनुसार मन्त्री घिसिङले गम्भीर असर पर्ने विषय फोहोर बन्द नगर्न आग्रह गर्दैगर्दा स्थानीयले फोहोर रोकेका छन् । फोहोर बोकेर बन्चरे ल्यान्डफिल पुगेका सयौं गाडी बाटोमा थन्किएको छ । फोहोर रोकेपछि स्थानीयको अडानपछि मन्त्री घिसिङले आक्रोश पोख्नुभएको थियो । ‘म आफैं लागिरहेको विषय हो, तपार्इंहरूको माग पूरा गर्ने विषयमा हामी गम्भीरतापूर्वक लागेका छौं भन्दाभन्दै किन अवरोध गर्ने निर्णय गरेको ? भन्दै प्रश्न गर्नुभएको थियो । स्थानीयले माग पूरा नभएको भन्दै रोकेका थिए ।

स्थानीयले अटेर गरे प्रहरी परिचालन गरेर भए पनि फोहोर विसर्जन गर्ने विषयमा छलफल भएको थियो । उपत्यकाका अधिकांश प्रहरी एनपीएल क्रिकेटको सुरक्षामा खटिएकाले तत्काल प्रहरी परिचालन गर्नसक्ने अवस्था छैन । करिब ४ हजार प्रहरी क्रिकेटको सुरक्षामा खटिएका छन् । शान्ति सुरक्षा मजबुत बनाउने प्रहरी क्रिकेट प्रतियोगितामा परिचालन भएको कारण फोहोर व्यवस्थापन गर्नसक्ने अवस्था नभएको विश्लेषण छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख सरिता राईले हिजोदेखि पुनः आन्दोलित भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सयौं सवारीसाधन ल्यान्डफिल साइट नजिक रोकिएका छन् । हामीले फोहोर खुलाउने पहल गरिरहेका छौं ।’
कार्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेर १५ दिनभित्र प्रभावित स्थानीयका माग पूरा गर्ने मौखिक प्रतिवद्धता जनाउनुभएको थियो । स्थानीयले कामपासँग भएको १८ बुँदे माग पूरा गर्नेपर्ने अडान राखेका थिए ।

स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई तीनदेखि चार हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुआत गर्नुपर्ने, गुठी संस्थानको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायत मागहरू राख्दै आएका थिए । स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले कामपासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका थिए ।

उनीहरूले बालेन्द्र साहसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका थिए । समितिले कामपा र तीन निकायबीच भएको १८ बुँदे सम्झौता कार्यान्वयन गर्न लगातार बैठक जारी राखेको छ ।बैठकमा काठमाडौं उपत्यकाबाट बन्चरेडाँडा कुँडुलेसम्म फोहोर दीर्घकालीन रूपमा रातीको समयमा फोहोर ढुवानी गर्ने कार्य पूरा हुन नसकेको विषय प्रवेश गरेको थियो । उक्त माग पूरा गर्ने विषयमा मन्त्रालयले बत्ती जडान सुरु गरेको छ । बत्ती जडान भएपछि अब रात्रिकालीन फोहोर ढुवानी सुरु हुने भएको छ ।

कामपाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न ५ वर्षमा १ अर्ब ५३ करोड रुपियाँ खर्च गरिसकेको छ । फोहोर रोकिएपछि सरकार र स्थानीय जनप्रतिनिधिबीच हजिो दिनभर बैठक जारी थियो । बैठकमा सहरी विकासमन्त्री कुलमान घिसिङ, स्थानीय धुनिबेसी नगरपालिका र ककनी गाँउपालिकाका प्रतिनिधिको उपस्थिति थियो । बिहान सहरी विकास मन्त्रालयका सचिव गोपाल पौडेल र त्यसपछि सहरी विकासमन्त्री कुलमान घिसिङसँग वार्ता भएको थियो । वार्ताको मुख्य माग केही वर्षअघि लगाइएका स्थानीयको मुद्दा फिर्ता लिनुपर्ने र सरकारले लिखित प्रतिबद्धता जाहेर गर्नुपर्ने रहेको छ ।