-रातिदेखि अवस्था सामान्य
-गृह मन्त्रालयद्वारा संयमता अपनाउन आग्रह
बारा ।
बारा जिल्लाको सिमरामा जेन–जी युवा र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्तासँग झडप भएपछि सिमरा क्षेत्र बुधबार दिनभरि नै अस्तव्यस्त बन्न पुगेको थियो । स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गर्नु पर्नेे अवस्था आए पनि साँझदेखि भने स्थिति सामान्य बन्दै गएको थियो ।
युवा संघका कार्यकर्ताहरूले जेन–जी अगुवा सम्राट उपाध्यायलगायतलाई कुटपिट गरेपछि बढेको तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो साँढे १२ बजेबाट राति ८ बजेसम्म कफ्र्यु आदेश नै जारी गरेको थियो ।
बुधबार नै गृह मन्त्रालयले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा भनिएको थियो– ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकोले यसतर्फ गम्भीर रहन सबै पक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ ।’ मन्त्रालयले सिमराको स्थिति सामान्य बन्दै गएको पनि बताएको छ ।
युवा संघले जिल्लाको परवानीपुर गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल र युवा नेता महेश बस्नेतसहितका नेताहरू सिमरा विमानस्थल हुँदै सहभागी हुन आउने खबर पाएपछि जेन–जी युवाले सिमरा नगरपालिका–२ स्थित एयरपोर्ट रोडमा विरोध प्रदर्शनको तयारी गरेका थिए । नेताहरूको स्वागतमा सिमरा एयरपोर्टतर्फ जाँदै गरेका युवा संघका कार्यकर्ताहरूको कुटपिटबाट उपाध्यायसहित जेन–जीका ५ जना सामान्य घाइते भएको उपाध्यायले बताउनुभयो ।
उपाध्यायको भने नाक र मुखमा चोट लागेको र रगत बगेको थियो । घटनामा प्रहरी निरीक्षक जीवन लामिछाने र प्रहरी नायव निरीक्षक कृष्णनन्दन ठाकुर पनि सामान्य घाइते बनेका छन् । युवा संघतर्फ पनि ३ जना समान्य घाइते भएको एमालेका जितपुरसिमरा अध्यक्ष त्रिलोक शाह ठकुरीले बताउनुभएको छ ।
कुटपिटपछि आक्रोशित जेन–जी युवा युवा संघका कार्यकर्ताको पिछा गर्दै विमानस्थलको गेटबाहिर पुगेका थिए । सोही क्रममा विमानस्थलभित्र बसेका एमालेका अन्य नेता र कार्यकर्ताहरूलाई लक्षित गर्दै उनीहरूले ढुंगामुढा गरेका थिए । ढुंगामुढाले विमानस्थलको मुख्य गेट भत्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डित बताउनुभयो ।
जेन–जी युवाहरूले कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै त्रिभुवन राजपथको वीरगञ्ज–पथलैया सडक खण्ड दिनभरि नै अवरुद्ध पारेका थिए । सडक साँझ ६ बजेबाट खुलेको थियो ।बाराको चैनपुरमा युवा संघले बुधबार आयोजना गरेको कार्यक्रममा एमाले महासचिव पोखरेलसहितका नेताहरू सिमरा विमानस्थलबाट आउने खबर पाएपछि जेन–जीको नाममा स्थानीय युवाले अघिल्लो दिन नै गत भाद्र २३ को जेन–जी आन्दोलनमा भएको दमनविरुद्ध सिमरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
जेन–जीको प्रदर्शनपछि सिमरा विमानस्थल बन्द गरिएको छ ।
विमानस्थल बन्द भएपछि नेकपा एमालेका महासचिव पोखरेल र बस्नेत बारा आउने कार्यक्रम रोकिएको थियो । यद्यपि, पूर्व निर्धारित कार्यक्रमअनुसार नै राष्ट्रिय युवा संघले सिमराबाट करिब १५ किमि दक्षिण जिल्लाको परवानीपुर गाउँपालिकाको चैनपुरमा युवा जागरण अभियान आयोजना गरेको छ ।भेलामा युवा संघका अध्यक्ष क्षितिज थेवे, एमाले सचिवालय सदस्य लीलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वाला साहलगायतका नेताले सम्बोधन गरेका थिए ।











प्रतिक्रिया