डब्लुएचओद्वारा निर्मित प्रिफ्याव ब्लक स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण


काठमाडौँ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिंहदरबारस्थित नरसिंह दल गण परिसरमा निर्माण गरेको छवटा प्रिफ्याव्रिकेटेड (प्रिफ्याव) भवन सरकारले औपचारिक रूपमा प्राप्त गरेको छ। बुधबार डब्लुएचओका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्मालाई एक कार्यक्रमबीच ती भवनहरू हस्तान्तरण गरेका हुन्।

डब्लुएचओले १ लाख ५० हजार अमेरिकी डलर लागतमा प्रिफ्याव भवनसँगै आवश्यक फर्निचर तथा पूर्वाधार बनाइदिएको मन्त्रालयले जनाएको छ। जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन जलेर पूर्ण रूपमा ध्वस्त भएपछि मन्त्रालयका नियमित कामकाज अवरुद्ध हुन पुगेको थियो। त्यही परिस्थितिमा मन्त्रालयलाई शीघ्र रूपमा कार्यसञ्चालन गर्न सक्ने सुविधा उपलब्ध गराउन डब्लुएचओको सहयोगमा सिंहदरबारभित्र वैकल्पिक संरचना निर्माण गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हस्तान्तरण सम्पन्न भइसकेकाले आगामी आइतबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट औपचारिक रूपमा काम प्रारम्भ गर्ने तयारी छ। मन्त्रिपरिषद् बैठक तथा उच्चस्तरीय समन्वयका कामहरू सहज बनाउन मन्त्रालयलाई सिंहदरबारभित्र पुनःस्थापित गर्नु आवश्यक रहेको अधिकारीहरूको भनाइ छ।

निर्मित छ वटा प्रिफ्याव भवनमध्ये केहीमा मन्त्री शर्माको कार्यकक्ष र सचिवालय राखिने व्यवस्था मिलाइएको छ। त्यस्तै, एउटा टिन छानाको टहरोलाई पनि रङरोगन तथा सिंगारपटार गरेर प्रयोगयोग्य बनाइएको मन्त्रालयले जनाएको छ। भवनहरू तत्काल प्रयोगमा ल्याउन सकिने गरी भित्ता, बत्ती, फर्निचर, सूचना–प्रविधि उपकरण जडानलगायत आवश्यक आधारभूत पूर्वाधार समेटिएको बताइएको छ।

गत भदौमा भएको जेनजी आन्दोलनले सरकारका विभिन्न संरचनामा क्षति पुर्‍याएको थियो। रामशाहपथस्थित पुरानो स्वास्थ्य मन्त्रालय भवन आंशिक मात्र नभई पूर्ण क्षतिग्रस्त भएपछि मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछाडिको नयाँ भवन प्रयोग गर्दै दैनिक प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको छ। तर त्यो भवन अस्थायी तथा सीमित क्षमताको भएकाले मन्त्रालयलाई पूर्ण क्षमता र सुचारु प्रणालीमा फर्काउन वैकल्पिक रूपमा सिंहदरबार भित्रको स्थान रोजिएको हो।

यससँगै सिंहदरबारस्थित नरसिंह दल गणका दुईवटा पुराना भवनलाई पनि मर्मत तथा स्तरवृद्धि गरी क्रमशः कार्यमा ल्याउने योजना मन्त्रालयले बनाएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार सिंहदरबारभित्र मन्त्रालय पुनःस्थापित भएपछि अन्तर–एजेंसी समन्वय, मन्त्रालयबीचको आवागमन, नीति निर्माण तथा निर्णय प्रक्रियामा चाँडै हुने प्रभावकारिता वृद्धि हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा व्यवस्थापन, औषधि आपूर्ति, नागरिक स्वास्थ्य बिमा, कार्यक्रम रूपरेखा तथा बजेट कार्यान्वयनलगायत कार्यहरू हाल अस्थायी रूपमा विभिन्न स्थानमा विभाजित भएर सञ्चालन हुँदै आएका छन्। नयाँ प्रिफ्याव संरचनाबाट यी सबै कार्यलाई एकीकृत रूपमा सञ्चालन गर्न सहज हुने मन्त्रालयको मूल्यांकन छ।

डब्लुएचओले विपत्‌पछिको पुनःस्थापनामा सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल सरकारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले डब्लुएचओको सहयोगलाई ‘समयमै प्राप्त महत्त्वपूर्ण सहयोग’ भनेको छ।