आहाले–रौता हाइकिङ मार्गको शुभारम्भ

376
Shares

उदयपुर ।

त्रियुगा नगरपालिका र रौता पोखरीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले हाइकिङ रुटको शुभारम्भ गरिएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले हाइकिङ रुटको शुभारम्भ गरेका हुन् । 

त्रियुगा नगरपालिकाको वडा नं १६ आहालेदेखी करिव ४ किलो मिटर रौता पोखरी सम्मको हाइकिङ रुटको शुभारम्भ भएको हो । 

उदयपुरको धार्मिक तथा ऐतिहासिक स्थान रौता पोखरीलाई हरेक दृष्टिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित हाईकिङको सुरुवात गरिएको आयोजकले जनाएको छ । 

त्रियुगा नगरपालिका वडा नं १५, रौता दर्शन होटल होलीडे र पर्यटन प्रवर्द्धन समिति त्रियुगाको आयोजनामा हाइकिङ कार्यक्रम गरिएको हो । 

हाइकिङ रुटको शुभारम्भ गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले आन्तरिक तथा वाह्य पर्यटनका लागि रौता पोखरी सम्पुर्ण कुराले उत्कृष्ट गन्तव्य रहेको बताए । आहाले बाट हाइकिङ गर्ने रुटमा गुरास बनको दृश्य अवलोकन, ठुला भिर पाखा, तराईको समथर फाँटको आनन्द लिदै हाइकिङ गर्न पाइने हुँदा यस्को छुट्टै महत्व हुने बताए । 

हाइकिङ मार्फत स्थानीयलाई रोजगारीमा जोड्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने हुँदा रौतालाई धार्मिक, ऐतिहासिक,  प्याराग्लाईडिङ, हाइकिङ र मनोरम दृश्यका लागि पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने रौतामाई गाउपालिकाका अध्यक्ष वीरेन्द्र कुमार मगरले बताए । 

हाईकिङमा उदयपुर जिल्ला देखी, सुनसरी र छिमेकी मुलुक भारतका समेत पर्यटकहरुको सहभागिता रहेको थियो । हाइकिङ रुट शुभारम्भ कार्यक्रमको अध्यक्षता त्रियुगा नगरपालिका वडा नं १६ का वडा अध्यक्ष मान बहादुर राईले गरेका थिए।