काठमाडौं।
कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नागरिक लगानी कोषलगायतको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तौलिहवा नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापकसमेतले प्राथमिक विद्यालय स्थायी शिक्षकको नागरिक लगानी कोषलगायतको सामाजिक सुरक्षा करसमेत खातामा जम्मा नगरेको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७८-७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त रकम ५१ हजार ६ सय, दिवा खाजाबापतको २ लाख ४७ हजार ५० र पाठ्यपुस्तक शीर्षकमा १ लाख १६ हजार ७ सय २९ रुपियाँ विनियोजन भएको थियो ।
तर, प्रधानाध्यापक रैदास र व्यवस्थापन समितिका अध्यक्ष थारूको मिलेमतोमा विद्यालयमा छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६ सय रुपियाँ कुनै पनि विद्यार्थीहरूलाई वितरण नगरेको पाइएको आयोगले जनाएको छ । दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, सामाजिक सुरक्षालगायतको ४ लाख ४३ हजार ४ सय ३० रुपियाँ ७५ पैसा हिनामिना गरेको देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले ४ लाख ४३ हजार ४ सय ३० रुपियाँ ७५ पैसा बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद दुवै सजायको मागदाबी गरेको छ ।











प्रतिक्रिया