त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेहाल

ट्रलीको अभावले यात्रुहरू हैरान

प्रतीकात्मक तस्वीर

काठमाडौं।

देशको एकमात्र अन्तर्राष्ट्रिय विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले दयनीय अवस्थामा पुगेको छ । बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म विभिन्न मुलुकबाट आएका विमान अवतरण गर्दाको दृश्य साँच्चिकै दयनीय देखिन्छ ।

सामान राख्नका लागि प्रयोग हुने ट्रलीको अभावले यात्रुहरू छटपटीमा थिए, तर विमानस्थल निकायका कसैले पनि त्यसप्रति संवेदनशीलता देखाएको देखिएन ।
ब्राजिलबाट नेपाल भ्रमणमा आएकी पर्यटक मारिया अन अराइभल भिसा लिन जान खोज्दा विमानस्थलमा एउटा ट्रली पनि नपाएर निराश बन्नुभएको थियो । यत्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली छैन ? यो कस्तो कोटिको सेवा हो भन्दै उहाँले त्यहाँका सुरक्षा अधिकारीसँग गुनासो गर्दै हुनुहुन्थ्यो । उहाँले विमानस्थलका कर्मचारीहरूको व्यवहारमा असन्तुष्टि पनि जाहेर गर्नुभएको थियो ।

मारियामात्र होइनन्, अमेरिकाबाट चार वर्षपछि नेपाल फर्किएका झापा, अर्जुनधाराका हिरामणि भट्टराई पनि विमानस्थलको अवस्थाले झस्कनुभएको थियो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दलीय शासनपछि नयाँ सरकार आएपछि अवस्था सुध्रियो होला भनेको झन बेहाल भएको रहेछ । यस्तो बिजोग पनि हुन्छ ? विमानस्थलमा एउटा ट्रलीका लागि मैले ४० मिनेट कुरेँ तर अझै ट्रली पाएको छैन ।’

तीन घण्टाभन्दा बढी अवधिमा विमान अवतरण गर्दा लगभग छ वटा अन्तर्राष्ट्रिय फ्लाइट आएका थिए, तर आगमन हलमा यात्रा गर्ने धेरैलाई ट्रली खोज्ने काम भारी भयो । विमानस्थलका कर्मचारीहरू सहयोग गर्नुभन्दा एकअर्कातिर हेरेर पन्छिन्थे, जसले यात्रुहरूलाई थप हैरानीमा पारेको थियो । केही यात्रुलाई विमानस्थलबाट आफ्नो गन्तव्यसम्म कसरी जाने भन्ने चिन्ताले समेत सताइरहेको थियो ।

अर्कोतिर, विमानस्थल सुरक्षा प्रबन्धमा खटिएका प्रहरी अधिकारीहरूको समेत कमजोरी देखिएको थियो । भदौ २३ र २४ को आन्दोलन अघि प्रहरी विमानस्थल वरपरका भिडभाड नियन्त्रणका प्रहरीको उपस्थिति उल्लेख्य थियो । तर, अहिले प्रहरीको व्यवहार नै निराजनक देखिथ्यो ।

भन्सार कार्यालयका कर्मचारीहरूको व्यवहार पनि उस्तै उदेक लाग्दो रहेको रहेको यात्रुहरूले बताएका छन् । उनीहरू प्रत्येक यात्रुलाई के ल्याउनुभएको छ ? भनेर अनावश्यक सोधपुछ र लगेज खोतलखातलमा व्यस्त देखिन्थे । ब्याग खोल्न लगाउने, धम्कीपूर्ण भाषा प्रयोग गर्ने, र यात्रुहरूको सामानको प्रत्यक्ष निरीक्षण गर्न दबाब दिने प्रवृत्ति देखिएको छ, जुन नेपालको अन्तर्राष्ट्रिय छविमाथि गम्भीर प्रश्न खडा गर्ने पाल्पाका सुमन गैरेले बताउनुभयो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रन्जी शेर्पाले भने आफूहरू यात्रुहरूको सहजताको लागि काम गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘संशाधनको कमी र कर्मचारी सीमित छन्, त्यही भएर त्यस्तो भएको होला ।’

तर यो जवाफ विश्वासिलो देखिँदैन । किनभने यो केवल व्यक्तिको समस्यामात्रै होइन; यो नेपालको प्रतिष्ठा र अन्तर्राष्ट्रिय विश्वासको विषय हो । विदेशी पर्यटकहरूले नेपाल भ्रमण गर्दा प्राकृतिक सुन्दरतामा रमाउन चाहन्छन् तर, विमानस्थलमा प्रारम्भमै पाउने व्यवहारले उनीहरूलाई निराश पारिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो समस्या समाधान नहुँदा, नेपालको पर्यटन क्षेत्रले त्यसको दीर्घकालीन प्रभाव भोग्न सक्छ । त्रुटिपूर्ण सेवा, असहज सुरुआत, र यात्रुहरूको विश्वासमा कमीले भ्रमणयोग्य गन्तव्यका रूपमा नेपालको छवि कमजोर पार्न सक्छ । विमानस्थल व्यवस्थापनले तत्काल कदम चाल्नुपर्छ । पर्याप्त ट्रलीको व्यवस्था, प्रशिक्षित कर्मचारी, र सम्मानजनक भन्सार व्यवहार सुनिश्चित गर्नुपर्छ, नत्र यो देशका आकर्षणहरूमा छाया पर्ने अवस्था आउन सक्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूको पहिलो पाइलामा भरोसा जित्न सकेको देखिँदैन । विदेशी नागरिकहरूको मनमा उत्पन्न हुने निराशा र असन्तुष्टिलाई मात्र नजरअन्दाज गरेर बस्न मिल्ने अवस्था यो होइन ।