नेपाली कांग्रेसको स्थापना सन् १९५० (वि.सं. २००७) मा भएको हो । स्थापना भएदेखि हालसम्म पार्टीले जम्मा १४ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ । सन् २०२१ (वि.सं. २०७८ मङ्सिर) मा सम्पन्न १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा पार्टीको सभापति चयन भएका थिए । अब १५औँ महाधिवेशन चारबर्से कार्यकाल पूरा भई २०८२ साल मङ्सिरमा सम्पन्न गर्नुपर्ने समयसीमा नजिकिँदै छ । तर वर्तमान नेतृत्वमा रहेका रैथाने नेताहरूको अदूरदर्शिता र जडताका कारण कांग्रेसभित्र पुस्तान्तरणको प्रक्रिया प्रसववेदनामा गुज्रिरहेको छ ।
भादौ २३ र २४ गतेको युवा पुस्ता, विशेष गरी जेनजीका युवाहरूको क्रान्तिकारी आन्दोलनले नेपालमा डिजिटल युगको नयाँ राजनीतिक चेतना जन्माएको छ । यस आन्दोलनसँगै पुराना राजनीतिक दलहरूमा पुस्तान्तरणको माग तीव्र बन्दै गएको छ । नेपाली कांग्रेसमा भने १४औँ महाधिवेशनसम्म पुस्तान्तरणको प्रश्न खुलेर उठेको थिएन । तर भदौ २३–२४ को जेनजी आन्दोलनपछि पार्टीमा पनि सत्ता र संगठनमा युवा पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने माग प्रबल बनेको छ ।
वि.सं. २०४७ मा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनस्र्थापना भएपछि कांग्रेस नेतृत्वका रैथाने नेताहरूले लगातार सरकार र संगठनमा आफ्नो प्रभुत्व कायम राख्दै आएका छन् । यही नेतृत्वविरुद्ध नयाँ पुस्ताको असन्तोष र परिवर्तनको माग बढ्दै गएको छ । पुस्तान्तरणको यो प्रसववेदनाको मूल कारण सभापतिको वरिपरि केन्द्रित सीमित नेताहरूको व्यक्तिगत स्वार्थ र सीमितीकरण नै हो ।
हाम्रा छिमेकी भारतमा पनि यस्तै उदाहरण पाइन्छ । भारतीय राष्ट्रिय कांग्रेसमा सन् १९३० देखि जरा गाडेका पुराना नेताहरूको सोच र कार्यशैलीले पार्टीलाई जकडेको थियो । भारत बृटिस उपनिवेशबाट सन् १९४७ मा मुक्त भए पनि जनचाहनाअनुसार नेतृत्वमा रूपान्तरण हुन नसक्दा पार्टीमा संकट आयो । अन्ततः युवानेतृ श्रीमती इन्दिरा गान्धीले सन् १९६९ मा पुस्तान्तरणको नेतृत्व गर्दै पुराना नेताहरूलाई पार्टीको मुख्य धाराबाट पाखा लगाउने साहसिक कदम चालिन् ।
विश्वका कुनै पनि मुलुकका राजनीतिक दलमा पुरानो सोच र परम्परागत कार्यशैलीबाट ग्रसित नेतृत्वमा परिवर्तन ल्याउन अन्ततः आन्तरिक विद्रोह वा पुस्तान्तरणको माग स्वाभाविक रूपमा उठ्ने गर्दछ । यो कुरा नेपाली नेताहरूले बुझ्न आवश्यक छ ।
नेपालमा पनि राजनीतिक दल, तिनका संगठन र सरकार सञ्चालनमा पुस्तान्तरण क्रमशः हुनै पर्छ भन्ने जनअपेक्षा बढ्दै गएको छ । नेपाली कांग्रेसका केही रैथाने नेताहरू, जो शीर्ष तहका नेताहरूको निगाहमा रमाइरहेका छन्, अब रनभुल्लमा परेका देखिन्छन् । पार्टीको आगामी महाधिवेशनमा नयाँ पुस्ताको नेतृत्व उदय हुनु आजको अनिवार्य आवश्यकता बनेको छ ।
यस पुस्तान्तरणलाई सहज र स्थायित्वपूर्ण बनाउन रैथानेतर नेताहरू तथा कार्यकर्ताहरूले मध्यमार्गी बाटो अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । यदि १५औँ महाधिवेशन वा विशेष महाधिवेशनमार्फत पुस्तान्तरण सम्पन्न गर्न सकियो भने, पार्टीले आगामी चुनावमा सशक्त उपस्थिति जनाउन सक्छ ।
भविष्यमा पार्टी र सरकारमा स्थापित हुने नयाँ नेतृत्वले आफ्नो नीति, संगठन संरचना, सत्ता सञ्चालन, इमानदारी र पारदर्शितामा सुधार ल्याउनु अपरिहार्य छ । त्यसै गरी, युवापुस्ता, वर्ग, समुदाय र भौगोलिक विविधताको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ ।
नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राखी कांग्रेसले आफ्नो कूटनीतिक कौशलता र राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा जनतामाझ ल्याउनुपर्छ । वर्तमान संघीय संरचना र संविधानको कार्यान्वयनबारे खुला बहस गरेर आवश्यक सुधारका लागि प्रतिबद्धता जनाउनु पनि नेतृत्वको दायित्व हो ।
नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राखी कांग्रेसले आफ्नो कूटनीतिक कौशलता र राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा जनतामाझ ल्याउनुपर्छ । वर्तमान संघीय संरचना र संविधानको कार्यान्वयनबारे खुला बहस गरेर आवश्यक सुधारका लागि प्रतिबद्धता जनाउनु पनि नेतृत्वको दायित्व हो ।
नेपाललाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ । त्यसका लागि विज्ञहरूको कार्यदल गठन गरी वैदेशिक लगानी आकर्षित गर्ने डिजिटल मार्गचित्र तयार गर्न सकिन्छ । जलस्रोत, प्राकृतिक ग्यास र तेलका भण्डारको उपयोग, दुर्लभ पृथ्वी तत्व (रियर अर्थ इलिमेन्ट) का सम्भावनाहरू तथा प्रविधि–मैत्री लगानी योजनाहरूलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउन सकिन्छ ।
नेपालमा भ्रष्टाचार राजनीतिक, प्रशासनिक र कूटनीतिक तहमा गहिरोरूपमा जरा गाडेको छ । यसलाई नियन्त्रण गर्न पारदर्शिता, कानुनी सुदृढता र अत्याधुनिक डिजिटल अनुगमन प्रणाली लागू गर्नुपर्छ । अन्ततः नेपालको आर्थिक–सामाजिक रूपान्तरण, स्थिर सरकार र साझा राष्ट्रिय दृष्टिकोण निर्माणका लागि सक्षम, दूरदर्शी र निष्ठावान् नेतृत्वको आवश्यकता छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न नेपाललाई आन्तरिक र बाह्य पर्यटन सर्किटको रूपमा विकास गर्न सकिन्छ । कृषि उत्पादन र जलविद्युत्मा रूपान्तरण ल्याएर रोजगारी र समृद्धिको आधार बनाउन सकिन्छ ।
युवापुस्ता र जेनजीको चाहनाअनुसार राजनीतिक दलहरूमा पुस्तान्तरणको प्रक्रिया आगामी फागुन २१ गते घोषणा भएको संसद् निर्वाचनभन्दा अघि नै शुरु हुनुपर्छ भन्ने जनमत बलियो बन्दै गएको छ । लोकतन्त्रको विकल्प लोकतन्त्रकै सुधार र परिमार्जन हो भन्ने बुझाइ अब सबै दलहरूले आत्मसात् गर्नुपर्ने बेला आएको छ ।
(लेखक नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।)











प्रतिक्रिया