काठमाडौँ
खाद्य सुरक्षा र गुणस्तर कायम राख्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासिक कार्य प्रगति सार्वजनिक गरेको छ ।
विभाग तथा मातहतका ४३ कार्यालयमार्फत उपभोक्ताको स्वास्थ्य र सुविधा प्राथमिकतामा राख्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ र दाना पदार्थ ऐन–२०३३ को प्रभावकारी कार्यान्वयन, खाद्य प्रविधिको उन्नयन तथा पोषण अभिवृद्धिमूलक कार्यक्रमलाई सुदृढ रूपमा अघि बढाइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार २०८२ श्रावण १ देखि असोज मसान्तसम्म सञ्चालन भएका प्रमुख गतिविधिमध्ये मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत प्रशोधित दूध, तेल, पिउने पानी, घ्यूलगायत विभिन्न खाद्य पदार्थको प्रारम्भिक चेकजाँच, तरकारी–फलफूलमा विषादी अवशेषको द्रुत परीक्षण तथा चाडपर्व लक्षित अनुगमन अन्तर्गत होटल–रेस्टुरेन्ट निरीक्षण गरी आवश्यक कारबाहीका प्रक्रिया अघि बढाइएको छ ।
यस अवधिमा खाद्य उद्योग तथा बजार अनुगमनबाट ५ सय ६६ नमूना संकलन गरिएका मध्ये ३ सय ३२ नमूनाको विश्लेषण गर्दा ११ (३.३१%) नमूना प्रतिकूल भेटिएको विभागले जानकारी गराएको छ । न्यूनस्तर र दूषित उत्पादन बिक्री वितरणको कसुरमा १७ मुद्दा दायर गरिनुका साथै २ हजार ९ सय १८ स्थानमा अनुगमन तथा ९ सय नमूनाको स्वच्छता सर्भिलेन्स गरिएको विभागले जनाएको छ । सोही अवधिमा २ सय ६० नयाँ उद्योगलाई अनुज्ञापत्र जारी, १ सय ८१ नवीकरण तथा ३ सय ४८ नयाँ उद्योग सिफारिस गरी कूल ७ सय ८९ उद्योग नियमनमा समावेश भएका छन् ।
चाडपर्व लक्षित अनुगमनमा म्याद गुज्रिएका, लेबलविहीन तथा दूषित खाद्य पदार्थ जफत गरी ११ लाख ५६ हजार २ सय ६ रुपियाँ बराबरका सामान नष्ट गरिएको विभागले बताएको छ । जफत गरिएका वस्तुमा मिठाई, मसला, पेय पदार्थ, दालमोठ, चिप्स, तेल, मैदा, जुसलगायतका खाद्य सामग्री रहेका थिए ।
आयात–निर्यात नियमनका क्षेत्रमा पहिलो त्रैमासमा ५ हजार ६ सय ४९ आयात अनुमति पत्र जारी गरिएको र कागजात अपूर्णताका कारण ५४ कन्साइन्मेन्ट अस्वीकृत गरिएको छ । विभिन्न नाकाबाट प्राप्त १४ हजार ५ सय ५९ नमूनामध्ये १६ प्रतिकूल पाइएको विभागले जनाएको छ । साथै, ८ वटा खाद्य सामग्रीका लागि स्वास्थ्य प्रमाणपत्र जारी गर्दै ४३ हजार ८ सय ७९ दसमलब ७ केजी बराबरका ६२,६८२.९४ अमेरिकी डलर मूल्यका खाद्य पदार्थ तेस्रो मुल्कमा निर्यातका लागि सहजीकरण गरिएको छ । प्रशोधित भटमास तेल, सूर्यमुखी तेल र पाल्म तेल भारतीय बजारमा तथा अन्य कृषि–खाद्य सामग्री विभिन्न देशमा निर्यातका लागि अनुमति प्रदान गरिएको विभागले उल्लेख गरेको छ। सो अवधिमा ४४० आहारपूरक खाद्य पदार्थ उत्पादन दर्ता तथा नवीकरण गरिएको छ ।
प्रयोगशाला सेवातर्फ, विभाग तथा मातहत कार्यालयका प्रयोगशालाले १९,९०५ नमूनाको परीक्षण गरेका छन्। च्द्यएच् विधिबाट १७,८३४ तरकारी तथा फलफूलको परीक्षण गर्दा २ नमूना मात्र प्रतिकूल पाइएको विभागले जनाएको छ ।
विभागले खाद्य सुरक्षा तथा गुणस्तर सम्बन्धी सूचना सर्वसाधारणसम्म पु¥याउन पत्रकार समुदायले खेलेको भूमिकाको उच्च कदर गर्दै भविष्यमा पनि उपभोक्ता चेतनामूलक अभियानमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको छ ।











प्रतिक्रिया