प्रत्येक २ मिनेटमा एक महिलाको पाठेघरको क्यान्सरका कारण ज्यान गइरहेको छ– डब्लुएचओ

विश्व पाठेघरको क्यान्सर उन्मूलन दिवस


काठमाडौं। 

रोकथाम र उपचार सम्भव हुँदाहुँदै पनि पाठेघरको क्यान्सर विश्वभर महिलामा मृत्युको प्रमुख कारण बन्दै गएको अवस्थामा आज ‘विश्व पाठेघरको क्यान्सर उन्मूलन दिवस’ दक्षिण–पूर्वी एसियामा विशेष प्रतिबद्धतासहित मनाइँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रकी प्रभारी अधिकृत डा. क्याथरिना बोहेमले महिलाको स्वास्थ्य सुरक्षाका लागि “अहिले नै कदम चाल्नुहोस्, पाठेघरको क्यान्सर उन्मूलन गर्नुहोस्” भन्ने सन्देशसहित सदस्य राष्ट्रहरूलाई लक्ष्यअनुरूप प्रगतिलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरेका छन् ।

डब्लुएचओका अनुसार विश्वव्यापी रूपमा प्रत्येक २ मिनेटमा एक महिला पाठेघरको क्यान्सरका कारण ज्यान गुमाइरहेकी छन्। रोग रोकथामयोग्य र प्रारम्भिक अवस्थामा पूर्ण उपचार सम्भव हुँदाहुँदै यो मृत्युदर उच्च रहनु चिन्ताजनक भएको चिकित्सकहरू बताउँछन् । सन् २०२२ मा मात्र डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रमा अनुमानित १ लाख ६० हजार नयाँ केस दर्ता भएका थिए भने १ लाख महिलाको मृत्यु भएको रिपोर्ट गरिएको छ । यो विश्वव्यापी क्यान्सर बोझको करिब एक–चौथाइ हो ।

डब्लुएचओले सन् २०३० सम्म पाठेघरको क्यान्सर उन्मूलनका लागि ‘९०–७०–९०’ को महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिसकेको छ । जसअनुसार १५ वर्षभित्र ९० प्रतिशत केटीहरूले एचपीभि खोप पाइसक्ने, ३५ र ४५ वर्षको उमेरमा ७० प्रतिशत महिलाले उच्च–प्रदर्शन परीक्षणमार्फत स्क्रिनिङ गरिसक्ने, र पूर्व–क्यान्सर वा आक्रामक क्यान्सर भएका ९० प्रतिशत महिला उपचारमा समेटिने लक्ष्य छ ।

दक्षिण–पूर्वी एसियाका सदस्य मुलुकलाई मार्गदर्शन गर्न २०२१–२०३० को क्षेत्रीय कार्यान्वयन रूपरेखा तथा २०२४–२०३० को व्यापक क्यान्सर रोकथाम तथा व्यवस्थापन रणनीति लागू गरिएको छ । यी नीतिहरूले रोकथाम गर्न सकिने क्यान्सरबाट मृत्यु घटाउने, स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने र उपचारको गुणस्तरमा सुधार ल्याउने उद्देश्य लिएका छन् ।

उत्साहजनक प्रगति, तर काम अझ बाँकी केही देशहरुले महत्त्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । भुटानले पाठेघरको क्यान्सर उन्मूलनलाई ‘स्वास्थ्य प्रमुख परियोजना’को रूपमा प्राथमिकता दिँदै सन् २०३० का अन्तरिम लक्ष्यहरू पूरा गरेको डब्लुएचओले जनाएको छ । त्यस्तै थाइल्याण्डमा सञ्चालनमा रहेको ‘क्यान्सर एनीवेयर कार्यक्रम’ले महिलाहरू बसोबास गर्ने नजिकै स्थानमा नै क्यान्सर उपचार उपलब्ध गराइदिएर पहलकदमीको नयाँ नमुना स्थापित गरेको छ । नेपाल लगायत ८ वटा देशमा राष्टव्यापी एचपीभि खोप कार्यक्रम क्रियाशील छ भने ६ वटा देशमा जनसंख्यामा आधारित स्क्रिनिङ प्रणाली विस्तार हुँदैछ ।

अधिकांश मुलुकमा खोप र स्क्रिनिङको कभरेज अझै पनि लक्ष्यभन्दा निकै कम रहेको डब्लुएचओको आकलन छ । कतिपय देशमा उपचारका लागि आवश्यक उपकरण, विशेषज्ञता र औषधिको पर्याप्तता नपुगेको, स्क्रिनिङको गुणस्तर असमान रहेको र रेफरल प्रणाली कमजोर पाइने गरेको डा. बोहेम बताउँछन् । 
डब्लुएचओको चारवटा प्राथमिक आह्वान अनुसार दक्षिण–पूर्वी एसियाका सरकार र साझेदारहरूलाई डब्लुएचओले निम्न कदमहरू अविलम्ब कार्यान्वयन गर्न अपिल गरेको छः

१. एचपीभि खोपको कभरेज ९० प्रतिशतभन्दा माथि पुर्याउने, खोप किफायती बनाउने र सम्भव भएमा एकल–खुराक मोडल अपनाउने ।

२. स्क्रिनिङको गुणस्तर र पहुँच सुधार गर्ने, उच्च–प्रदर्शन परीक्षण तथा आत्म–नमूना प्रणाली लागू गर्ने, र स्क्रिनिङ–निदान–उपचारलाई एकीकृत गर्ने ।

३. आक्रामक क्यान्सर उपचारका लागि विशेषज्ञ, उपकरण र औषधिको पर्याप्तता सुनिश्चित गर्ने, र बहु–अनुशासनात्मक उपचार पद्धति विस्तार गर्ने ।

४. विश्वव्यापी स्वास्थ्य बीमा योजनामा पाठेघरको क्यान्सर सेवाहरू समेट्ने, ताकि कुनै महिला आर्थिक अभावका कारण उपचारबाट वञ्चित नहोस् ।

त्यसैगरि यस वर्षको विश्व पाठेघरको क्यान्सर उन्मूलन दिवस विशेष २०२५  पहिलो ऐतिहासिक माइलस्टोनका रुपमा रहेको छ । विश्व स्वास्थ्य सभाले क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उन्मूलन गर्ने प्रस्ताव पारित गरेपछि यो पहिलो पटक औपचारिक रूपमा मनाइँदै छ । डा. बोहेमले दक्षिण–पूर्वी एसियामा रहेको लचिलोपन, सहकार्य र क्षेत्रीय रोडम्यापप्रतिको प्रतिबद्धतालाई सराहना गर्दै प्रगति अझ तीव्र बनाउने समय आएको बताए । 

उनी  भन्छन – “कुनै पनि महिला पाठेघरको क्यान्सरजस्तो रोकथाम गर्न सकिने रोगका कारण मृत्यु हुनु भनेको हाम्रो स्वीकार्य भविष्य होइन । प्रगतिलाई छिटो पार्न, खाडलहरू पुर्दै जान र जीवनरक्षक सेवामा सबैलाई समान पहुँच दिलाउन अहिले नै सामूहिक रूपमा कदम चाल्नुपर्ने छ ।”

दक्षिण–पूर्वी एसियामा पाठेघरको क्यान्सर उन्मूलन अब स्वास्थ्य नीति मात्रै नभई सामाजिक न्याय, महिला सशक्तीकरण र नागरिक स्वास्थ्य सुरक्षासँग जोडिएको विषय बन्दै गएको छ । डब्लुएचओको आह्वानलाई व्यवहारिक कार्यान्वयनले मात्र यस क्षेत्रलाई क्यान्सर–मुक्त भविष्यतर्फ अघि बढाउन सक्ने विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।