स्याङ्जा।
पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले पूर्वाधार विकासमा मोटो रकम खर्च (लगानी) गर्दै आएका छन् । पूर्वाधारतर्फ सुरुङ्मार्ग, राजमार्ग विस्तार, नयाँ सडक निर्माण, पक्की पुल, प्रशासनिक संरचना र अस्पताल लगायतका क्षेत्रमा सरकारले मोटो रकम खर्च गरेको छ । ठूला पूर्वाधार विकासमा तीनै तहका सरकार तछाड र मछाड शैलीमा मोटो रकम खर्च गर्ने प्रतिस्पर्धामा छन् । पूर्वाधारमा मोटो रकम खर्च गरेपनि स्याङ्जाभित्र ८२ किलोमिटरको दुरी पर्ने कुल १ सय ८१ किलोमिटर लम्बाईको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गको स्तरवृद्धि हुन सकेको छैन् । तराई पहाड जोड्ने देशकै छोटो र सहज सिद्धार्थ राजमार्गको स्तरउन्नती देख्न र भोग्न आतुर स्याङ्जा र आसपास जिल्लाका स्थानीय व्यग्र प्रतिक्षामा छन् । प्रमुख राजमार्गको स्तरवृद्धि नभएपनि जिल्लाभित्र साना र ठूला गरी दर्जनौ पूर्वाधार निर्माणको गतिविधिले भने तिव्रता पाएका छन् ।
गण्डकी प्रदेश सरकार बनेपछि स्याङ्जामा पछिल्लो ७ वर्षमा १५ वटा पक्की (सडक) पुल बनेको पूर्वाधार निर्माणको गतिलो उदाहरण हो । आर्थिक वर्ष २०७५-७६ देखि पछिल्लो ७ वर्ष अर्थात आर्थिक वर्ष २०८१-८२ सम्मको अवधिमा २६ करोड ४३ लाख ४४ हजार ४ सय २ रुपैयाँको लागतमा १५ वटा पक्की पुल बनेको गण्डकी सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा देखिन्छ । पूर्वाधार विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७५-०७६ मा ५ करोड २ लाख १७ हजार ५ सय १ रुपैयाँको लागतमा दुई पक्की पुल निर्माण गरेको थियो । छोरेपाटन–कृस्ति हुँदै सुकौदी–बाडखोला जोड्ने सडक खण्डको सुकौदीमा १ करोड ६९ लाख ५३ हजार ५ सय ८५ तथा पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिका जोड्ने सडक खण्डअन्र्तगत ठाडोखेतको दरौखोलामा ३ करोड ३२ लाख ६३ हजार ९ सय १६ रुपैयाँको लागतमा पुल निर्माण गरेको कार्यालयले जनाएको छ ।
७ वर्षमा १५ पुल बनेको भएपनि आर्थिक वर्ष २०७६-०७७ मा संख्याका आधारमा तुलनात्मक रुपमा धेरै पुल निर्माण भएका छन् । सो आर्थिक वर्षमा कुल १० करोड ४३ लाख ८६ हजार ३ सय ५२ रुपैयाँको लागतमा विभिन्न सडकअन्र्तगत ७ वटा पक्की पुल निर्माण भएको पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर दयाराम अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त वर्ष वालिङ नगरपालिकाको त्रियासी–मनकामना सडकमा पर्ने रत्ने–दोभानखोलामा ८८ लाख १३ हजार ८ सय १३ रुपैयाँको लागतमा पुल बन्यो भने पुतलीबजार नगरपालिका र हरिनाश गाउँपालिका जोड्ने घुम्ती–चिसापानी सडकको भुवनेखोलामा बनेको पुल ९८ लाख ३६ हजार २ सय १४ रुपैयाँ लगतमा तयार भएको हो । भीरकोटको बगरेबजार–पकान हुँदै वालिङ जोड्ने सडकको लुब्दीखोलामा कुल २ करोड १५ लाख ६२ हजार ३ सय ३४ रुपैयाँ लागतमा पुल बनेको प्रमुख अधिकारीले जानाकारी दिए ।
त्यसैगरी सिद्धार्थ राजमार्गको नागडाँडा हुँदै कार्किनेटा जोडिने सडकको बाँसकोट खोलामा १ करोड १३ लाख २५ हजार २ सय ५३ रुपैयाँको लागतमा पुल बन्यो भने वालिङकै राक्से–केसेरी हुँदै फूलबारी सडकको अर्मादीखोलामा १ करोड २२ लाख ७७ हजार ९ सय ७६ रुपैयाँमा पुल बनेको छ । बिरुवा–बाहुँ–ओरेष्टे सडक खण्डमा पर्ने अम्बेटस्थित मयाङ्गखोलामा १ करोड ७५ लाख २६ हजार ७ सय ६२ रुपैयाँको लागतमा पुल बन्दा फेदीखोला हुँदै पञ्चासे पुग्ने सडकको फेदीखोलास्थित पुललाई २ करोड ३० लाख ४४ हजार खर्च भएको पूर्वाधार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७-०७८ मा सेतीदोभान हुँदै फापरथुम–चण्डीकालिका जोड्ने सडकको पातीखोलामा २ करोड ६ लाख ८५ हजार १ सय ४९ रुपैयाँमा पुल बनेको छ । गल्याङ्–निबुवाखर्क हुँदै सेतिबेनी पुग्ने सडकको मान्केखोलामा १ करोड ३७ लाख १ हजार ५ सय ९३ रुपैयाँ र गल्याङ्–चापाकोट सडक खण्डको जौदीखोलामा २ करोड ३९ लाख १७ हजार ८७ रुपैयाँको लागतमा पुल निर्माण भएको पूर्वाधारका इन्जिनियर शिवजी ढुङ्गानाले जानकारी दिए । हेलु–अर्जुनचौपारी हुँदै सिरुबारी जाने सडकमा आर्थिक वर्ष २०७८-७९ मा केवँरेखोलामा १ करोड ९४ लाख ४१ हजार ५० रुपैयाँमा पक्की पुल बनेको छ । पुल बनेसँगै नेपालकै पहिलो ग्रामिण पर्यटकीय क्षेत्र सिरुबारीको होमस्टे जानआउन सहज भएको छ । सिरुबारीको होमस्टे पुग्न बुटवल तर्फबाट आउने पर्यटकका लागि हेलु–अर्जुनचौपारी सडक छोटो र सहज हुने स्थानीयको भनाई छ ।
आर्थिक वर्ष २०७९-८० मा हुँगिघाट–बेलचौर सडकको गौरीघाट खोलामा १ करोड ३३ लाख ३ हजार ६ सय ४६ रुपैयाँको लागतमा पक्की पुल बनेको पूर्वाधारका सडक इन्जिनियर पोषराज पौडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०८१-८२ को अन्त्यमा बाडखोला, पौवैगौडे–टक्सार सडक खण्डको पौवैखोलामा १ करोड ८६ लाख ९२ हजारको लागतमा पुल निर्माण भएको छ । पछिल्लो ७ वर्षमध्ये आर्थिक वर्ष २०८०-८१ मा जिल्लामा पुल बनेको तथ्याङ्कमा देखिदैन् ।
कार्यालयका अनुसार उक्त वर्ष पुल बनाउने ठेक्का लागेपनि निर्माण सम्पन्न हुन सकेन् । उक्त वर्ष झण्डै १८ करोडको लागतमा ४ वटा पक्की पुल ठेक्का लगाएपनि सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । विगत तीन वर्षदेखि निर्माण थालिएका पक्की पुलहरु चालु आर्थिक वर्षमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।











प्रतिक्रिया