जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशभरिमै प्रथम

282
Shares

उदयपुर । 

उदयपुरको गाईघाट बोक्सेमा रहेको उदयपुर जिल्ला अस्पताल आर्थिक वर्ष २०८१-०८२ मा कोशी प्रदेशभरिमा प्रथम भएको छ । सम्पादित स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकनका आधारमा जिल्ला अस्पताल उदयपुर ८५.३८ स्कोरसहित कोशी प्रदेशभरिमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । कार्तिक २९ र ३० गते बिराटनगरमा आयोजित प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा कार्यक्रममा यो उपलब्धि घोषणा गरिएको हो ।

समीक्षा कार्यक्रममा जिल्ला अस्पताल तेह्रथुम दोस्रो, भोजपुर तेस्रो, सोलुखुम्बु चौथो र प्रादेशिक अस्पताल कटारी पाँचौँ स्थानमा रहे। अस्पतालका तर्फबाट डा. मुकेश झाले प्रशंसा–पत्र ग्रहण गरेका थिए । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. यदुचन्द्र घिमिरे र स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले उहाँलाई प्रशंसा–पत्र हस्तान्तरण गर्नुभएको अस्पताल प्रशासन प्रमुख भगवती खतिवडाले जानकारी दिए।

मेडिकल रेकर्डर सुरेश पाण्डेका अनुसार कोशी प्रदेश सरकारले वार्षिक रूपमा स्वास्थ्य इकाईहरूको सेवा प्रवाह मूल्याङ्कन गरी वर्गीकरण गर्दै आएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र मण्डलले यो सफलता अस्पताल व्यवस्थापन समिति, चिकित्सक, कर्मचारी, स्थानीय सरकार, पत्रकार, नागरिक समाज र समुदायको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले सबैलाई धन्यवाद ज्ञापन गरे।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्माले आगामी दिनमा थप गुणस्तरीय, जनमुखी र सम्मानजनक स्वास्थ्य सेवा प्रदान गरी सेवाग्राहीको विश्वास कायम राख्ने प्रतिज्ञा गरे।