नेपालको पहिलो बैंक ८९ औँ वर्ष प्रवेश, अध्यक्ष शर्माद्वारा शुभकामना र आभार प्रकट


काठमाडौँ
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि ८९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले बैंकिड सेवाको अविच्छिन्न ८८ वर्ष पूरा गरेको अवसरमा ग्राहक वर्ग, शेयरधनी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक बधाई तथा शुभकामना प्रकट गरेको छ ।

बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले शुभकामना मन्तव्यमा भनेका छन्, ‘नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ सम्पदा हो । नेपाली जनता, उद्यमी व्यवसायीको विश्वासको धरोहरका रूपमा रही गौरवमय इतिहास कायम गरेको बैंकले विभिन्न कालखण्डमा थुप्रै आरोह अवरोह पार गर्दै प्रतिस्पर्धी बैंकिङ परिवेशमा निरन्तर रूपमा सबल, सक्षम र प्रभावकारी बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।’

उनले देशमा बचत संस्कृतिको विकाससँगै आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बैंकले मुलुकको औद्योगिक एवम् व्यापार व्यवसायको विकास एवम् विस्तारमा समेत उल्लेख्य भूमिका निर्वाह गर्दै आएको आएका छन् ।

उहाँले भन्नुभएको छ ‘सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापना भएको बैंकमा सरकार र निजी क्षेत्रको साझेदारी कायमै छ, बैंकको नीतिगत तथा निर्णय प्रक्रियामा भइरहेको निरन्तर सहयोगका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, बैंकको विकास, विस्तार र नियमनमा मार्गनिर्देशकको भूमिका निर्वाह गर्ने नेपाल राष्ट्र बैंक तथा सबै नियमनकारी निकायप्रति हार्दिक आभार व्यक्त गर्दछ ।’