सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं।

सिराहा, नरहा गाउँपालिका-३ खोरीया चौहर्वास्थित सडकमा ज.१० प ४०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कल्याणपुर नगरपालिका-१२ बेलाकट्टी बस्ने ४६ वर्षीया धनेशरी देवी सदाको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुरा, आलिताल गाउँपालिका-८ गोदाम बजारस्थित सडकमा भे.१ त ७८५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ बाहिरीसैन बस्ने २७ वर्षीय भरत रावतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य १ जनालाई थप उपचारको लागि धनगढीतर्फ रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैंचा नगरपालिका-४ गछिया खोलास्थित सडकमा प्रदेश १-०२-००५ ह ११६१ नम्बरको सिटीले को. २० प ५९४८ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक धनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने २६ वर्षीय छत्र बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, भिमफेदी गाउँपालिका-१ बुङदलस्थित सडकमा बा.प्र. ०३-००५ प ७९८० नम्बरको मोटरसाइकल आनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक हेटौंडा उपमहानगरपालिका-२ चौकीटोल बस्ने ३९ वर्षीय बिर बहादुर गुरूङ र मोटरसाइकलमा सवार नवलपरासी पुर्व कावासोती नगरपालिका-१३ घर भएका ३५ वर्षीय चन्द्र बहादुर गुरूङको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।