काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र आर्थिक क्षेत्रमा उत्पन्न चुनौती समाधानमा महासंघ ‘ट्रबलसुटर’को भूमिकामा रहेको बताउनुभएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघको १६औं साधारणसभा तथा छैटौं महाधिवेशनमा बोल्दै उहाँले श्रम समस्या, डेडिकेटेड तथा ट्रंकलाइन विवाद, कानुनी संशोधन, आर्थिक सुधार आयोग र कालाबजारी ऐनका विषयमा महासंघले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।
ढकालले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि प्रधानमन्त्री सुशीला कार्की र ऊर्जामन्त्री कुलमान घिसिङसँग गरेको आग्रहलाई उहाँहरूले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी पुँजी आवश्यक रहेको बताउँदै उहाँले १० अर्ब रूपैयाँ पुँजीसहित ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी दिनुभयो ।उक्त कम्पनीमार्फत ठूला परियोजनामा लगानी बढाइने उहाँको भनाइ थियो ।
हालैको जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको क्षति प्रति चिन्ता व्यक्त गर्दै ढकालले संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले देशको समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो











प्रतिक्रिया