काठमाडौं ।
बाढीपहिरो र आन्दोलनका कारण कोशी प्रदेशमा करिब साढे चार अर्ब रुपियाँबराबरको क्षति भएको प्रदेश सरकारको प्रारम्भिक मूल्यांकनले देखाएको छ । बजेट अभावबीच पनि पुनर्निर्माण प्रक्रिया सुरु गरिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै असर इलाम र पाँचथर जिल्लामा परेको छ । दुवै जिल्लामा पुनर्निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।
बाढीपहिरो तथा आन्दोलनका कारण प्रदेश र स्थानीय तहका सरकारी भवन, सार्वजनिक संरचना, सडक, पुल, झोलुंगे पुलसहित २७७ संरचना क्षतिग्रस्त भएका छन् । यसअन्तर्गत बाढीपहिरोले मात्र तीन अर्ब ५६ करोड २७ लाख रुपियाँबराबरको क्षति पु¥याएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।
यस्तै, ‘जेन–जी’ आन्दोलनका क्रममा प्रदेश सरकारका मन्त्रालय तथा निकायमा ७६ करोड ९५ लाख ४२ हजार रुपियाँबराबरको क्षति भएको छ ।
कोसी सरकारले चालु आर्थिक वर्षको २५ प्रतिशत बजेट पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरिसकेको छ । रातो किताबमा समावेश साना तथा टुक्रे योजनासमेत कटौती गर्ने तयारी भइरहेको सरकारका अधिकारीहरूले बताएका छन् ।
जेन–जी आन्दोलनका घटनामा प्रदेश सरकारका ५० स्थायी संरचनामा २४ प्रतिशतसम्म क्षति पुगेको छ। २६५ सवारीसाधनमध्ये ५४ प्रतिशत नोक्सानग्रस्त भएका छन्। यस्तै फर्निचर २,४८८, उपकरण २,१०६, सूचना प्रणाली ३८५ तथा अन्य २०४ सामग्रीहरू नष्ट वा क्षतिग्रस्त भएका छन् । कुल क्षति ७६ करोड ९५ लाख रुपियाँ बराबरको छ ।
गत असोजमा तीन दिनसम्मको अविरल वर्षापछि आएको बाढी पहिरोले निजी घर ५६, सरकारी भवन तथा संरचना १३, सडक १५८, सडक पुल ३० तथा झोलुंगे पुल ११ वटा क्षतिग्रस्त भएका छन् ।











प्रतिक्रिया