लुम्बिनीका आर्थिक सूचकहरूमा सकारात्मक


काठमाडौं ।

लुम्बिनी प्रदेशको आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको वार्षिक अध्ययनअनुसार कृषि उत्पादन वृद्धि, औद्योगिक कर्जा विस्तार तथा जीडीपी वृद्धि दरमा सुधार सकारात्मक संकेत देएिकोे हो । अध्ययन प्रतिवेदनअनुसार पर्यटन र होटल उद्योगमा ठूलो गिरावट देखिएको छ । कर्जा वितरणमा जिल्लागत असमानता, पूर्वाधार आयोजनाको न्यून गति जस्ता चुनौतीहरू अझै विद्यमान छन् ।

प्रदेशले कृषि, उद्योग, सेवा क्षेत्रबीचको सन्तुलन, कर्जा वितरणको समावेशिता र पर्यटन पुनरुत्थानलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता प्रतिवेदनले स्पष्ट रूपले औंल्याउँछ । लुम्बिनी प्रदेशका १२ जिल्लामा स्थलगत तथा गैरस्थलगत रूपमा संकलित तथ्यांकका आधारमा तयार गरिएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अध्ययन प्रतिवेदनले प्रदेशको समग्र अर्थतन्त्रमा मिश्रित परिणाम देखाएको छ ।

प्रतिवेदन अनुसार खाद्य तथा अन्य बालीको कुल क्षेत्रफल १.४२ प्रतिशतले घटेर ७ लाख ६८ हजार ९६८ हेक्टरमा झरेको छ । तर उत्पादन ३.४३ प्रतिशतले बढेर ३३ लाख ८० हजार ३२७ मेट्रिक टन पुगेको छ । दुध, मासु, अण्डा र माछाको उत्पादन क्रमशः २.८८, ३.०३, ३.११ र १३.९८ प्रतिशतले वृद्धि भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा भने ३.४६ प्रतिशतले घटेको छ । कुल कृषि कर्जामध्ये रुपन्देहीले ४३.८० प्रतिशत हिस्सा पाएको छ भने रुकुमपूर्वले मात्र ०.४० प्रतिशत हिस्सा पाएको प्रतिवेदनले जनाएको छ ।

त्यस्तै प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५०.६० प्रतिशतमा सीमित रह्यो। रोजिन उत्पादन गर्ने उद्योगले ८८.६९ प्रतिशत र ड्राई सिरप उत्पादन उद्योगले मात्र ८.६४ प्रतिशत क्षमता उपयोग गरेका छन् । औद्योगिक उत्पादनतर्फ सिन्थेटिक कपडाको उत्पादन १७०.७७ प्रतिशतले बढेको छ । उद्योग क्षेत्रमा कर्जा प्रवाह ६.९३ प्रतिशतले वृद्धि भएको छ, जसमा कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगले ४३.६३ प्रतिशत कर्जा पाएका छन् ।होटलका तथ्यांकअनुसार शैया संख्या, शैया बिक्री तथा पर्यटक आगमन क्रमशः ३४.२०, ४५.७४ र ६१.७८ प्रतिशतले घटेका छन् । घरजग्गा रजिष्ट्रेशन संख्या ४२.८२ प्रतिशतले बढे पनि राजस्व ५.४५ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.४३ प्रतिशत र कर्जा प्रवाह २.९२ प्रतिशतले बढेको छ । सहकारी संस्थाहरूको पुँजी २.४४ प्रतिशतले घटे पनि कर्जा प्रवाह २.५० प्रतिशतले बढेको छ ।

यसैगरी नारायणघाट–बुटवल सडक (पश्चिम खण्ड) को भौतिक प्रगति ६९.०३ प्रतिशत र सिद्धबाबा सुरुङमार्गको ५७.५१ प्रतिशत पुगेको छ ।कालिगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुङ्गा) ले ७९ प्रतिशत भौतिक प्रगति गरेको छ । सिक्टा र बबई सिँचाइ आयोजना क्रमशः ४४.२३ र ८२.२७ प्रतिशत भौतिक प्रगतिमा पुगेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०८१÷८२ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर ४.७ प्रतिशत रहने अनुमान गरिएको छ, जुन गत वर्षको ३.९४ प्रतिशतभन्दा बढी हो ।

प्रदेशको राष्ट्रिय जीडीपीमा योगदान १४.२३ प्रतिशत रहनेछ । क्षेत्रगत हिसाबले यातायात तथा भण्डारण क्षेत्रको वृद्धि ९.७ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रको वृद्धि २ प्रतिशत रहने अनुमान छ ।लुम्बिनी प्रदेशको कृषि, उद्योग र सेवा क्षेत्रमा योगदान क्रमशः ३१, १४ र ५५ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । प्रदेशगत आर्थिक वृद्धि तुलनामा गण्डकी प्रदेश ५.५१ प्रतिशतका साथ अग्रस्थानमा रहनेछ भने सुदूरपश्चिम ३.३२ प्रतिशतका साथ पछाडि रहनेछ । लुम्बिनी प्रदेशको वृद्धि ४.७ प्रतिशत रहने अनुमान गरिएको छ ।