निर्वाचन सुरक्षा चुनौती बढेपछि गृहमन्त्रीद्वारा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक


काठमाडौँ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढेको भन्दै केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका छन्। आइतबार दिउँसो ३ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी बैठक आह्वान गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी दिए।

फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको सुरक्षायोजनालाई अन्तिम रूप दिने, संभावित जोखिमको मूल्यांकन गर्ने र दुर्गा प्रसाईँ नेतृत्वमा आह्वान भइरहेको आन्दोलनले उत्पन्न गर्न सक्ने सुरक्षा चुनौती बारे व्यापक छलफल बैठकको मुख्य एजेन्डा रहेको स्रोतले बताएको छ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग ९रअ० का प्रमुख तथा मन्त्रालयका शान्ति–सुरक्षा महाशाखा प्रमुख सहभागी रहनेछन्।

गृहमन्त्री अर्यालको नेतृत्वमा बस्ने यस बैठकले देशव्यापी सुरक्षाको वर्तमान अवस्था, संवेदनशील क्षेत्रहरूको पहिचान, अतिरिक्त फोर्स परिचालन, दंगा नियन्त्रण रणनीति, सवारी–यातायात व्यवस्थापन तथा निर्वाचनका बेला सम्भावित अवरोध रोक्न आवश्यक समन्वय र निर्देशनहरू तय गर्ने अपेक्षा गरिएको छ।