गढी संरक्षणमा सेना

3.01k
Shares

दोलखा ।

विगतका युद्धमा सुरक्षाको लागि नेपाली सेनाले बिभिन्न स्थानमा निर्माण गरेको गढी संरक्षण तथा प्रवद्धन गर्न दोलखा सदरमुकाम चरिकोटमा रहेको गरुड दल गणले अभियान सुरु गरेको छ ।


अभियानको क्रममा दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर– ४ मा रहेको ऐतिहासीक देउराली गढीको संरक्षण एवम् प्रवद्धन सुरु गरिएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।
ऐतिहासीक महत्वको देउराली गढीको संरक्षण गर्न गरुड दल गणले त्यस क्षेत्रमा सरसफाई, तारवार लगायतको काम गरेको गणपति लोक सागर कटुवालको भनाई छ ।

नेपाली सेनाले नेपालको पूर्वी भागको सुरक्षा गर्न, तिब्बत तर्फ जाने ब्यापारीक मार्गको सुरक्षा तथा सिन्धुली गढीको युद्ध असफल भएमा बैकल्पिक रणनीतिक स्थानको रुपमा देउराली गढीको निर्माण गरिएको इतिहास पाईन्छ ।देउराली गढी संरक्षण र प्रवद्धनको लागि तामाकोशी गाउँपालिकाले २०७४ सालदेखिनै मन्दिर निर्माण, बाटो निर्माण, गेट निर्माण जस्ता कामहरु गर्दै आएको र अहिले पनि नेपाली सेनाको गरुड दल गणसंगको सहकार्यमा गढी संरक्षणको लागि बिभिन्न काम गरिएको तामाकोशी गाउँपालिकाका उपाध्यक्ष सृजना खड्का सुवेदीले बताउनु भयो ।

तामाकोशी गाँउपालिका वडा नम्बर– ५ किर्नेटारमा रहेको जाल्पादेवी मन्दिरको इतिहास पनि सेनासंगै जोडिएकोले यसको संरक्षण र प्रवद्धनको लागि समेत गरुड दल गणसंग सहकार्य गर्ने पालिका उपाध्यक्ष सुवेदीले बताउनु भयो ।किर्नेटारमा रहेको जाल्पादेवी मन्दिर १७४० मा भोटमा लडाई गरेर फर्किएका सैनिकहरुले निर्माण गरेको इतिहास पाईन्छ । किंवदन्ति अनुसार भोटमा लडाई गर्न हिडेका सैनिकले मन्दिर भएको ठाँउमा युवती नाचेको देखे । ती युवती देवी हुन् भन्ने चिनेपछि उनीहरुले लडाई जितेर फर्किए मन्दिर बनाईदिने बचनवद्धता सहित देवीसंग आर्शिवाद लिएर लडाईमा गए । र, लडाई जितेर फर्किए पछि जाल्पादेवी मन्दिरको स्थापना गरिदिए ।

दोलखा जिल्लामा जाल्पादेवी मन्दिर, चरिकोट स्थित चरिघ्याङ गढी, १२ सय पल्टन लगायत सेनासंग इतिहास जोडिएको थुप्रै ऐतिहासीक महत्वको स्थान रहेकोले ती स्थानहरुको पहिचान, संरक्षण र प्रवद्धनको लागि गरुड दल गणले अभियाननै सुरु गरेको गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।

तस्विरः तामाकोशी गाउँपालिकामा रहेको देउराली गढी संरक्षण अभियान ।