फागुन २१ को निर्वाचन नौटंकी र ‘हनि ट्रयाप’ भएको बादलको आरोप
काठमाडौं ।
नेकपा एमालेको जनप्रदर्शन कार्यक्रमअन्तर्गत देशभरका ७७ वटै जिल्लामा ¥याली तथा आमसभा सम्पन्न भएको छ । ७७ वटै जिल्ला सदरमुकाममा भेला भएका एमालेका लाखौं नेता कार्यकर्ताहरूले एकै स्वरले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै संविधान र लोकतन्त्रको रक्षाको लागि जस्तोसुकै बलिदान गर्न पनि पछि नपर्ने उद्घोष गरेका छन् । ७७ वटै जिल्लामा भएको यो कार्यक्रमलाई एमालेले आफ्नो शक्ति प्रदर्शनको रूपमा पनि लिएको जनाएको छ ।
सबैजसो जिल्ला सदरमुकाममा ¥यालीपश्चात सभाको आयोजना गरिएको थियो । ती कार्यक्रममा जिल्लादेखि केन्द्रसम्मका नेताहरूले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममानेताहरूले भदौ २३ र २४ पछि संविधानलाई च्यातेर जननिर्वाचित सरकार र संसलाई भंग गर्ने असंवैधानिक कार्य गरिएको भन्दै सो कार्य आफूहरूलाई मान्य नभएको बताएका थिए । उनीहरूले प्रतिनिधिसभा पुनःस्थापना गरी जेन–जीहरूको भावनाअनुसार संविधान संशोधन गर्दै सर्वदलीय सर्वपक्षीय सरकार बनाएर नयाँ निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । एमाले नेताहरूले प्रतिनिधिसभा पुनःस्थापना आफूहरूको बटमलाइन भएको र पुनःस्थापना नहँुदासम्म आन्दोलन जारी राखिने बताएका थिए । प्रायः सबैजसो जिल्लामा एमालेका कार्यकर्ताको उत्सावद्र्धक सहभागिता रहेको थियो ।
गृहनगर चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले २१ फागुनको निर्वाचन नौटंकी र ‘हनि ट्रयाप’ भएको जिकिर गर्दै प्रमुख दलहरू त्यस्तो हनि ट्रयापमा फस्न नहुने बताउनुभयो । उपाध्यक्ष बादलले मुलुकलाई प्रतिक्रान्तितर्फ धकेल्ने खेललाई एमालेले परास्त पार्ने दाबी गर्नुभयो । प्रतिनिधिसभाको पुनःस्थापना अनिवार्य रहेको बताउँदै बादलले जननिर्वाचित संसद्लाई भंग गरेर संविधान र लोकतन्त्रलाई नै नामेट पार्न खोजिएको भन्दै त्यसलाई एमालेले असफल पार्ने दृढता व्यक्त गर्नुभयो ।
एमालेले यसअघि देशभरका वडाहरूदेखि पालिकाहरुमा पनि पनि यस्तैखालको जनप्रदर्शन गरेको थियो । एमालेले यसखाले जनप्रर्दशनमार्फत असंवैधानिक कदम सच्चाउन समेत माग गर्दै आएको हो । एमालेले प्रतिनिधिसभा पुनःस्थापना र असंवैधानिक कदम सच्याउनकै लागि यस खाले दबाबमूलक र जागरणमूलक कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
वर्तमान राजनीतिक अवस्था तथा सरकार गठनलाई प्रतिगामी षडयन्त्रको संज्ञा दिएको एमालेले यस अघि असंवैधानिक कदमविरुद्ध वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रम गर्ने गरी केन्द्रीय तहमा नै निर्णय गरेको थियो । सो निर्णयअनुसार यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् जनप्रदर्शनका तस्विर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चार माध्यमहरूमा पठाउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन गर्दै आउनुभएको छ ।











प्रतिक्रिया