नयाँ दिल्ली, (एजेन्सी)
भारतका युवा ब्याटर वैभव सूर्यवंशीले क्रिकेटको इतिहासमा सर्वाधिक आक्रमक ब्याटिङ गरेका छन् । एसिया कप टी २० खेलमा १४ वर्षीय वैभवले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ४२ बलमै १ सय ४४ रन बनाएका हुन् ।
भारतको ए टोलीबाट डेब्यु गरेका वैभवले ३२ बलमा शतक प्रहार गरेका हुन् । यो टी २० क्रिकेटको पुरुषतर्फ पाँचौं छिटो शतक हो । टी २० करिअरमा दोस्रो शतक प्रहार गरेका उनले यूएईविरुद्ध १५ छक्का र ११ चौका प्रहार गरे । योसँगैं उनले १ सय ३४ रन बाउन्ड्रीबाटै बनाए ।
वैभवको अद्भुत खेलको सहयोगमा भारतको ए टोलीले दोहामा भएको एसिया कपअन्तर्गत् घरेलु टोलीविरुद्ध ४ विकेटको क्षतिमा २ सय ९७ रन बनायो । यो खेल भारतीय ए टोलीले १ सय ४८ रनले जितेको थियो ।
गत जुलाईमा वैभवले युवाको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो शतक प्रहार गरेका थिए । इंग्ल्यान्डमाथिको जित पाएको सो खेलमा उनले ५२ बलमै शतक प्रहार गरेका थिए ।
यस्तै, वैभवले गत इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट खेल्दै ३५ बलमै शतक प्रहार गरेका थिए । यसले उनलाई पुरुष युवा क्रिकेटमा छिटो शतक प्रहार गर्ने ब्याटर बनाएको थियो ।











प्रतिक्रिया