रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार महिनामा २० हजार ९२ जनाले भ्रमण गरेका छन् । सो निकुञ्जले दिएको जानकारीअनुसार साउनमा विदेशी ११३, सार्क मुलुकका ११४ र नेपाली ८,५६९ जनाले भ्रमण गरेका छन् । त्यस्तै भदौ महिनामा विदेशी ३७०, सार्क मुलुकका ११, नेपाली ७६९ जनाले भ्रमण गरेका छन् । असोज महिनामा विदेशी १,५१९, सार्क मुलुकका ८७ र नेपाली ३,७३५ जनाले अनि कार्तिक २० गतेसम्म विदेशी १,९९५, सार्क मुलुकका ४४ र नेपाली २,८४५ जनाले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेको तथ्यांक छ ।
निकुञ्जका अनुसार दशैँ–तिहारको बिदा मनाउने उद्देश्यले धार्मिक क्षेत्र गोसाईंकुण्ड र लाङटाङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो नै लागेको थियो । सबभन्दा बढी लाङटाङ जानेको संख्या बढी रहेको छ । यो ४ महिनाको अवधिमा उक्त आन्तरिक तथा बाह्य पर्यटकहरूबाट १ करोड ३८ लाख १२ हजार ६ सय रुपियाँ राजस्व उठेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ चैत ९ गते स्थापना भई रसुवाको ५७ प्रतिशत भूभाग, नुवाकोटको ७ प्रतिशत र सिन्धुपाल्चोकको ३३ प्रतिशत भूभाग गरी ३ जिल्लाका साबिकको ३४ गाविसमा १,७१० वर्गकिमिमा फैलिएको छ । एक हजार मिटरदेखि ७ हजार २४५ मिटर उच्चाइसम्म फैलिएको यो निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ । वनक्षेत्र, घाँस, झाँडी बुट्यान तथा सिमसार क्षेत्र यस निकुञ्जको मुख्य विशेषतामा पर्दछ ।
साल, कटुस, खोटेसल्ला, गोब्रेसल्ला, धुपी, भोजपत्र, गुराँस, ओखर, खस्रुलगायत सयभन्दा बढी प्रजातिका वनस्पति यहाँ पाइन्छ । वन्यजन्तुहरुमा रेडपाण्डा, कस्तुरी, मृग, हिउँचितुवा, ह्वासे चितुवा, ब्वाँसो, सालक, चरीबाघ, आसामी बाँदर, हिमाली कालो भाल् आदि पर्दछन् । लाङटाङ उपत्यका, गोसाइँकुण्ड, दोर्जे लाक्पा पास, मेलम्चीघ्याङ, हेलम्बु, पाँचपोखरी, तार्केघ्याङ, ह्योल्मो, आमायाङ«ी, सेर्माथाङ, घ्याङफेदी, क्याङजिङ उपत्यका आदि यस निकुञ्जका आकर्षण स्थलहरू हुन् ।
समुद्री सतहबाट ४,३६० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड, क्यान्जिङ उपत्यका आदि यस निकुञ्जका प्रमुख स्थल मानिन्छन् । यहाँ रहेका धार्मिक, सांस्कृतिक, सामाजिक पहिचानहरुले यस निकुञ्जको गरिमालाई उचाइ प्रदान गरेको छ । निकुञ्ज संरक्षणमा विविध चुनौतीहरू रहे तापनि जैविक विविधताको संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा उच्च मनोबलका साथ निकुञ्ज क्रियाशील छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको उद्देश्य हिमाली क्षेत्रमा पाइने वन्यजन्तुहरुको बासस्थान संरक्षण तथा व्यवस्थापन गरी स्थानीय बासिन्दाको परम्परागत रहनसहनलाई संरक्षण गर्ने रहेको छ । साथै स्थानीयको जीविकोपार्जनमा सहयोग गरी मध्यवर्ती क्षेत्र कार्यक्रमबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा स्थानीय जनताको जीविकोपार्जनमा सुधार गर्ने निकुञ्जको उद्देश्य रहेको छ । यसका अलावा हिमाली क्षेत्रमा पाइने वन्यजन्तुहरुको बासस्थान संरक्षण र व्यवस्थापन गर्नमा समेत निकुञ्जले जोड दिएको छ । यसले गर्दा लाङटाङ क्षेत्रको अवलोकन भ्रमण गर्नेको संख्या अझ बढ्ने आँकलन गर्न सकिन्छ ।











प्रतिक्रिया