विद्यालयका हरेक कार्यक्रममा अवार्ड पाउने बालप्रतिभा रिजु

658
Shares

काठमाडौं । हुने बिरुवाको चिल्लो पात भन्ने उखानलाई बूढापाकाले त्यसै चलनमा ल्याएका होइनन् । प्रतिभाहरु कोही युवावस्थाबाट त कोही अधबैंसे उमेरबाट अनि कोही वृद्धावस्थाबाट उदाउँछन् भने कोही सानै उमेरदेखि आफ्नो प्रतिभालाई प्रस्फुटन गराउन सक्षम हुन्छन् । कोही प्रतिभा यस्ता हुन्छन् कि विद्यालयमा पाइला राख्दै विभिन्न प्रतियोगितामा उत्कृष्ट भई प्रदेशस्तरको प्रतियोगितासम्म पुगेर आफ्नो प्रतिभालाई सबैका सामु छर्लङ्ग पार्छन् । आफूसँग भएको कलाकौशल तथा प्रतिभालाई अरुका सामु पस्केर मन्त्रमुग्ध बनाई पुरस्कृत हुनु बाबालिकाहरुका लागि अत्यन्त ठूलो कुरा हो । प्रयास गरे के हुँदैन भन्ने कुराको उदाहरण काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा कक्षा ४ मा अध्ययनरत ९ वर्षकी रिजु हुमागाईंले दिएकी छिन् ।


२०७३ साल असोज २२ गते भक्तपुरको गठ्ठाघरमा जन्मिएकी रिजुको खास घर भने उदयपुरको रौतामाई गाउँपालिका वडा नं. २ भुट्टार हो । पिता राजन हुमागाईं र माता रिता ढुंगाना हुमागाईंकी छोरी रिजु सानै उमेरदेखि अनुशासित, इमानदार, आज्ञाकारी मात्र होइन पढाइमा पनि तीक्ष्ण बुद्धि भएकी अब्बल, बोलाइमा पनि शालीन र भद्र छिन् । गुरुहरुले एकपटक भनेको सर्लक्क बुझ्ने र दिएको काम तत्कालै गरिहाल्ने बानीले उनलाई घर र स्कुलमा सबैले माया गर्छन् ।

अहिलेसम्म रिजुले करिब ४० वटाभन्दा बढी अवार्ड तथा विभिन्न प्रकारका पुरस्कारहरु पाइसकेकी छिन् । खेलकुद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, गीत गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, पढाइ प्रतियोगिता, वादविवाद प्रतियोगिता, खेलकुदमा जिम्नास्टिक, बास्केट बल, दौड प्रतियोगिता, म्याथ दौड प्रतियागिता, लघु नाटक, रंगोली प्रतियोगिता, अंग्रेजी ह्यान्ड राइटिङ, अन्तरक्रिया कार्यक्रमलगायतका दर्जनौं कार्यक्रममा सहभागिता जनाएर प्रथम, द्वितीय, तृतीय हुन सफल भएकी छिन् ।

सानै उमेरदेखि तीक्ष्ण बुद्धिकी, घरमा अत्यन्त मेहनतका साथमा अध्ययन गर्ने, गुरुहरुले दिएको प्रत्येक गृहकार्य समयमा गर्ने, अनुशासित, इमानदार र मेहनती भएका कारण विद्यालयमा गुरुले ज्ञानी छात्राका रुपमा लिएका छन् । अंग्रेजी ह्यान्ड राइटिङमा बाग्मती प्रदेशस्तरमा उत्कृष्ट स्थान ल्याएर उनले पाएका अवार्ड तथा प्रमाणपत्रले एलबम नै भरिएको छ । विद्यालयमा हुने प्रत्येक कार्यक्रममा आफूखुशी सहजताका साथ सहभागी हुने गरेको र उनको रुचि पनि भएकाले प्रत्येक कार्यक्रममा उत्कृष्टताका साथ सफलता पाउँदै आएकी छिन् ।

यस्ता बालप्रतिभाहरुको प्रतिभा संरक्षण तथा संवद्र्धनका साथै उनीहरुको सीप, कला र बौद्धिकताको उच्च मूल्यांकन आवश्यक भएको छ । विद्यालयले मात्र होइन, स्थानीय तहले पनि यस्ता बालप्रतिभाहरुलाई प्रोत्साहनका साथै सम्मान तथा अवसर प्रदान गर्नुपर्ने रिजुकी माता रिता ढुंगाना हुमागाईंले बताउनुभयो । आफूलाई स्कुलमा हुने प्रत्येक कार्यक्रममा सहभागी हुन मन लाग्ने भएकोले अहिलेसम्म विद्यालयमा भएका प्रत्येक कार्यक्रममा सहभागी भएर पुरस्कार तथा अवार्ड पाएको रिजुले बताइन् । विद्यालयमा हुने हरेक प्रकारका कार्यक्रममा सहभागी हुँदा आफूलाई अत्यन्त खुशी लाग्ने र व्यक्तित्व विकासका साथै नेतृत्व विकासमा पनि सानैदेखि प्रयास गर्दा पछि गएर अझ परिपक्व तरिकाले आइपरेका जिम्मेवारीहरु पूरा गर्न सकिने आत्मविश्वास रहेको उनले बताइन् ।

रिजुका पिता राजन हुमागाईंका अनुसार बालबालिकाको मनोविज्ञान बुझेर उनीहरुको रुचिमा अभिभावकले पनि साथ–सहयोग गर्दा उनीहरुको व्यक्तित्व विकासमा मद्दत पुग्छ । अर्कोतर्फ बालबालिकाभित्र रहेको प्रतिभालाई उजागर गर्नका लागि उनीहरुको रुचिअनुसारको शिक्षामा ध्यान दिनुपर्दछ भने पाठ्यपुस्तकबाहेक बाह्य क्रियाकलापमा पनि संलग्न गराउनु आवश्यक हुने राजन बताउनुहुन्छ ।

काठमाडौं मोडेल कलेज (केएमसी स्कुल) को शाखाको रुपमा रहेको यस विद्यालयकी शिक्षिका तथा रिजुकी कक्षा शिक्षिका अञ्जना थापाका अनुसार विद्यालयमा रहेका करिब २ हजार विद्यार्थीमध्ये उत्कृष्ट १० विद्यार्थीमध्येमा परेकी छन् रिजु । शिक्षिका थापा रिजु प्ले ग्रुपदेखि नै अतिरिक्त क्रियाकलापको प्रत्येक कार्यक्रममा सहभागी हुने गरेको र सहभागी भएपछि पुरस्कारसहित अवार्ड लिएर नै घर फर्कने गरेको बताउनुहुन्छ ।

रिजु विद्यालयकै उत्कृष्ट प्रतिभा रहेको हुँदा विद्यालयमा सबैले चिन्ने गरेका छन् । अन्य विद्यार्थीको तुलनामा रिजु विशेष प्रतिभा भएकी छात्राका रुपमा चिनिएकी र विद्यालयमा प्रत्येक हप्ता हुने विविध कार्यक्रममा उनको उपस्थिति अनिवार्य हुने गरेको शिक्षिका थापाको भनाइ छ ।

पढाइ, लेखाइ, ह्यान्ड राइटिङ, खेलकुद, नृत्य, गायन, वादविवाद, हाजिरी जवाफ अन्तरक्रिया, वक्तृत्वकला, चित्रकला प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने मात्र होइन, गुरुहरुको आज्ञा पालन गर्ने विद्यार्थीमध्ये रिजु पनि एक हुन् । यो ५ महिनाको अवधिमा रिजुले ८ वटा अवार्ड पाएको शिक्षिका थापाले बताउनुभयो ।