लमजुङ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङले कार्तिक २९ गते शनिवार बेसीशहरमा जनप्रदर्शन र जनसभा गर्ने भएको छ। शुक्रवार पार्टी कार्यालयमा पत्रकारहरुसँग गरेको भेटघाटमार्फत एमालेले तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले पार्टी केन्द्रीय निर्णयअनुसार देशभर सुरु भएको जनआन्दोलन अभियानअन्तर्गत लमजुङमा पनि जनसभा आयोजना गरिएको बताए। उनका अनुसार प्रतिनिधिसभा विघटनको पुनः स्थापना, संविधानको संरक्षण र कार्यान्वयनमा जनदबाब सिर्जना गर्नु जनसभाको मुख्य उद्देश्य हो। टोलदेखि जिल्ला तहसम्म संगठन सक्रिय रहेको र सहभागी संख्या उल्लेख्य हुने अपेक्षा व्यक्त गरे।
पत्रकार भेटघाटमा एमाले केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज जमिन्द्रमान घलेले देशको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनता बलियो बनाउन एमाले निरन्तर जिम्मेवारीमा रहेको बताए। हालको जेन्जी आन्दोलनले मूल उद्देश्यभन्दा बाहिर गएर अराजक तत्त्वको प्रभावमा देशमा क्षति पुगेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न पार्टीले माग गरेको छ ।
भोलि शनिवार हुने जनसभालाई एमाले केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव राजेन्द्र बोहराले गरेका थिए भने स्वागत उपाध्यक्ष जितबहादुर गुरुङले गरेका थिए।











प्रतिक्रिया