काठमाडौं ।
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चित मुनाफासमेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८१÷८२ मा ७ अर्ब २३ करोड रुपियाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।
साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरू, शेयरधनी, संस्थागत शेयरधनीका प्रतिनिधिहरू, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरू, कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया