ह्याङ्जाकोटमा सञ्चालित ‘घरबास’ पर्यटकको पर्खाइमा

564
Shares

कास्की । ह्याङ्जाकोट सडक पहुँचबाट निकै नजिक छ । पोखराबाट नजिक रहेर पनि यहाँको ग्रामीण पर्यटन फस्टाउन सकेको छैन । छेवैमा छ अस्ताम, जुन कास्कीको पर्यटकीय स्थल हो । छिमेकमै रहेको ह्याङ्जाकोट भने सामुदायिक घरबास सञ्चालनको दशक बिते पनि सुनसान छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–६, धिताल ह्याङ्जाकोट प्रकृति र संस्कृतिले धनी छ । घरबास सञ्चालनले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा र विश्वास छ । यद्यपि थोरै मात्रै आन्तरिक पर्यटक उक्लिने गरेका छन् । अस्तामको ओझेलमा परेको छ यो गाउँ । माछापुच्छ«े गाउँपालिकामै ल्वाङ घलेल, धम्पुस, अस्तामजस्ता पर्यटकीय ठाउँहरु छन् । ती पर्यटकीय ठाउँको तुलनामा ह्याङ्जाकोट पनि पूर्वाधारले सज्जित छ तथापि पर्यटक उकाल्ने प्रयासमा प्रचार गर्न नसकिएको गुनासो स्थानीय स्वीकार्छन् ।

‘ह्याङजाकोट आफैंमा माछापुच्छ«े टान मोडल ट्रेक रुटभित्र पर्छ । घरबासको राम्रो व्यवस्था छ तर अझै पनि प्रचारप्रसार हुनै सकेको छैन’, सामुदायिक घरबास चलाइरहेका सञ्चालक पूर्ण गुरुङले भन्नुभयो । गाउँकै पुरानो बस्ती हो यो । ढुंगाले छाएका छन् घर । सफा सुग्घर छ । घरबासको लागि ४५ घरहरु छन् । जहाँ दैनिक दुई सय पर्यटकलाई राख्न सकिने अवस्था छ ।
‘चिनजानकै भरमा आउँछन् मानिस तर समूहमा आउने निकै कम छ’, गुरुङको भनाइ छ । गुरुङ संस्कृति प्रत्येक लवजमा झल्किन्छ । उत्तरमा अन्नपूर्ण हिमशृङखला पूरै देखिन्छ । बिहानै पारिलो घामले स्वागत गर्छ । हरियाली डाँडा र सडक सञ्जालको पहँुच सहज छ । पोखरादेखि केवल १५ किलोमिटर मात्रै टाढा छ । ‘ग्रामीण पर्यटन प्रवद्र्धन गाउँपालिकाको मुख्य लक्ष्य र उद्देश्य हो । त्यही अनुसार हामीले पूर्वाधार निर्माणमा ध्यान दिँदै आएका छौं’, गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले भन्नुभयो ।

पदयात्राको रुट पर्ने भए पनि कमै मात्र पदयात्री भेटिन्छन् । अन्नपूर्ण बेसक्याम्प जाने पुरानो रुट ह्याङ्कोट हँुदै जाने भए पनि अहिले खासै प्रयोगमा छैन । सामुदायिक घरबास कार्यक्रमका अध्यक्ष ईश्वर गुरुङले ह्याङ्जाकोटको ग्रामीण पर्यटन प्रवद्र्धनमा हामीले अझै प्रचारप्रसारमै जुट्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उद्देश्यअनुरुप प्रचारप्रसार गर्न नसकिएको गुनासो गर्नुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ह्याङ्जाकोटमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुसार गाउँपालिकासँगको सहकार्यमा ६० जना सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा अधिकांश ह्याङ्जाकोटबासीले गाउँको प्रचारप्रसारमा अझै ध्यान नपुगेको गुनासो सुनाएका थिए । गाउँपालिकामा अथाह पर्यटकीय सम्भावना रहेको गाउँपालिकाले उल्लेख गरेको छ । गाउँपालिकामा अस्ताम, धिताल (ह्याङ्जाकोट), धम्पुस, अस्ट्रेलियन क्याम्पदेखि क्यानोनिङजस्ता पर्यटकीय गन्तव्यस्थल छन् ।