यामल र विलियम्स स्पेनिस टोलीबाट बाहिर


लन्डन, (एजेन्सी)

स्पेनिस स्टारद्वय लामिन यामल र निको विलियम्सले विश्वकप छनोटका आगामी दुई खेल गुमाउने भएका छन् ।
प्युबल्जिया (ग्रोइन) समस्याका कारण दुवैजनालाई राष्ट्रिय टोलीबाट बाहिर राखिएको हो । स्पेनिस क्लब एफसी बार्सिलोनाले सोमबार यामलको उपचार गरेको तर यसबारे राष्ट्रिय टोलीका चिकित्सकलाई जानकारी नदिएको बताइएको छ । यामल ला लिगा अन्तर्गतको सेल्टा भिगोविरुद्धको खेलमा घाइते भएका थिए । बार्सिलोनाले खेलाडीको चोटबारे जानकारी नदिएको भन्दै स्पेनिस फुटबल महासंघले आश्चर्य र चिन्ता व्यक्त गरेको छ । स्पेनले नोभेम्बर १५ मा जर्जिया र १८ मा टर्कीविरुद्ध विश्वकप छनोटका म्याच खेल्ने तालिका रहेको छ।

त्यसैगरी अर्का युवा खेलाडी निको विलियम्स पनि चोटका कारण टिमबाट बाहिर भएका छन । एथ्लेटिक क्लब बिल्बाओका फरवार्ड निको विलियम्स पनि प्युबल्जियाको चोटका कारण विश्वकप छनोटका दुई खेलबाट बाहिरिएका हुन् । उनी आइतबार ओभिडोविरुद्धको ला लिगा खेलमा घाइते भएका थिए । विलियम्स र यामल दुवै अनुपस्थित हुने भएपछि स्पेनको आक्रमण पंक्ति कमजोर हुने अनुमान गरिएको छ । स्पेन समूह ‘ई’ मा रहँदै चारै खेलमा जित निकाली १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।