काठमाडौँ
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गरिमा रोड रेस–२०८२ को दोस्रो संस्करण आगामी मंसिर ६ गते, शनिबार आयोजना गर्न लागेको छ ।
गत वर्षदेखि सुरु गरिएको यो प्रतिस्पर्धामा यसपटक पनि तीन विधा(खुला (महिला र पुरुष) कर्पोरेट (महिला र पुरुष) र नयाँ थपिएको भेट्रान (महिला र पुरुष) राखिएको छ । खुलातर्फ १० किलोमिटर दुरी तय गर्नुपर्नेछ भने कर्पोरेट र भेट्रान दुवै समूहका प्रतियोगीहरूले ५ किलोमिटर दौड प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष खुला र कर्पोरेट विधासम्म सीमित रहेको प्रतियोगितामा यस वर्ष ४५ वर्षमाथिका महिला र ५० वर्षमाथिका पुरुषलाई समेत सहभागी गराउने उद्देश्यले भेट्रान वर्ग थपिएको हो । आयोजकका अनुसार यसपटक करीब १ हजार जना धावकहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
पुरस्कार राशिमा पनि आकर्षक व्यवस्था गरिएको छ । खुला तर्फका विजेताले जनही ५० हजार, दोस्रोले ३५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार रुपियाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
रोड रेसको खुला वर्ग बालुवाटारस्थित गरिमा विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका–३ कार्यालय भवन पुगेर सोही बाटो हुँदै पुनः बालुवाटारमै समापन हुनेछ ।
कर्पोरेट र भेट्रान वर्गको दौड भने सोही स्थानबाट सुरु भई न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै समाप्त हुनेछ ।
प्रतियोगितालाई व्यवस्थित र डिजिटल बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकले कार्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपियाँ शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्नेछन् । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।
गत वर्षको पहिलो संस्करणमा ६ सय ५० जना प्रतिस्पर्धी, जसमा ओलम्पिक धाविका सन्तोषी श्रेष्ठसमेत सहभागी थिइन् । यस वर्ष त्यसभन्दा अझ बढी धावकको सहभागिता रहनेमा गरिमा विकास बैंकले विश्वास व्यक्त गरेको छ ।











प्रतिक्रिया