वि.सं २०७८ मा भएको १२ औं राष्ट्रिय जनगणनाको तथ्यांकलाई हेर्ने हो भने नेपालमा १४० जातजाति, १२४ भाषाभाषी र १० वटा धार्मिक समूह रहेका छन् । ती सबै जातजाति, भाषाभाषी एवम् धार्मिक समूहको जातीय इतिहास, ऐतिहासिकता, भाषा, वेषभूषा, संस्कार, संस्कृति, वंश–परम्परा, पिता–पुर्खा, परम्परागत ज्ञानहरूको खोजी गर्ने काममा राज्य नै लागेमा अझ राम्रो हुने थियो ।
पछिल्लोपटक नेपालमा बसोबास गर्ने आधिकांश जातजाति, भाषाभाषी र धार्मिक समूहका अगुवाले आ–आफ्नो जातिको इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभूषा, संस्कार, संस्कृति, आफ्नो वंश–वृक्ष, पिता–पुर्खाको हाँगाबिँगा, परम्परागत कानुन, परम्परातग ज्ञान आदिको खोजी गर्ने क्रम बढी रहेको देखिन्छ । हुनत यस्तो महत्वपूर्ण कार्यमा राज्यको विशेष ध्यान जानुपर्ने हो । साथै यस्तो कार्यमा राज्यले मनग्य लगानी पनि गर्नुपर्ने हो ।
तर नेपालमा राज्यले त्यस्तो काम गरेको र, राज्यको तर्फबाट नेपालका जातजातिकोे परम्परागत ज्ञानको जगेर्ना गर्नेलगायतको काममा खासै लगानी गरेको पाइँदैन । हुनत केन्द्रीय सरकारले केन्द्रमा आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, भाषा आयोगलगायत निकायहरू गठन गरेको छ । तर ती निकायले पनि भुइँ तहमा गएर काम गर्न सक्दैनन् । अर्को तथ्य कुरो भनेको ती निकायलाई केन्द्र सरकारले पर्याप्त बजेट पनि छुट्याएको हुँदैन ।
हुनत नेपालमा विसं २०६२÷०६३ को राजनैतिक परिवर्तनपछि आएको संघीय शासन प्रणालीपछि जुन व्यवस्था लागू भएको छ, त्यसमा केन्द्रीय (संघीय) सरकारले कानुनमै तोकेर स्थानीय सरकारले त्यहाँ (आफ्नो (महानगर, उपमहानगर, नगर र गाउँपालिका) पालिकाभित्र स्थायी रूपमा बसोबास गर्दै आएका आदिवासी जनजातिका मातृभाषाको संरक्षण, मातृभाषामा पठन–पाठन, आदिवासी जनजातिका स्वास्थ्य सेवा, रोजगारीका साथै उनीहरूका परम्परागत मूल्य मान्यताको संरक्षण र सम्वर्धन गर्न भनेर वार्षिक बजेटमा पेस गरिने कुल बजेटको १५ प्रतिशत अनिवार्य छुट्याउनुपर्ने व्यवस्था गरेको पनि छ ।
तथापि राज्यले आदिवासी जनजातिका मातृभाषा संरक्षण, मातृभाषामा पठन–पाठन, आदिवासी जनजातिका स्वास्थ्य सेवा, रोजगारीका, उनीहरूका उत्थान एवम् संरक्षण र सम्वर्धन गर्न भनी वार्षिक रूपमा छुट्याइने रकमबारे कतिपय स्थानीय आदिवासी जनजातिहरूलाई अत्तोपत्तो हुँदैन । हुनत यस सम्बन्धमा धेरै जसो आदिवासी जनजातिका अगुवाको पनि दोष एवम् कमीकमजोरी रहेको देखिन्छ ।
किनभने आदिवासी जनजातिका अगुवाका साथै अभियन्ताले भुइँ तहका जनतालाई स्थानीय सरकारले स्थानीय निकायमा बसोबास गर्ने आदिवासी जनजातिका मातृभाषाको संरक्षण, मातृभाषामा पठन–पाठन, आदिवासी जनजातिका स्वास्थ्य सेवा, रोजगारीका साथै उनीहरूका उत्थान, सशक्तीकरण अनि परम्परागत मूल्य मान्यताको संरक्षण र सम्वर्धन गर्न भनेर वार्षिक रूपमा छुट्याइने कुल बजेटको १५ प्रतिशत अनिवार्य छुट्याएको हुन्छ भनेर बेलैमा सुसूचीत गर्न नसक्नु ठूलो कमजोरी हो भनी तपाईँ–हामीले स्वीकार्नुपर्ने हुन्छ । फलतः स्थानीय सरकार प्रमुखले त्यस्तो बजेटलाई रकमान्तर गरेर आफू खुसी खर्च गर्ने गरेका छन् ।
त्यसो त राज्यले नेपालका आदिवासी जनजातिको परम्परागत ज्ञानको जगेर्ना गर्नेलगायतको काममा खासै लगानी गरेको नभए तापनि नेपालका सम्बन्धित जातिहरू आफैँले आफ्नो भाषा, वेषभूषा, संस्कार, संस्कृति, वंश, पिता–पुर्खा, परम्परागत ज्ञान आदिको खोज्ने, जगेर्ना गर्ने र दस्तावेजीकरण गर्ने काम भइरहेको छ । स्मरण रहोस्, आफ्नो जातिको जातीय पहिचान आदिको खोजी गर्ने क्रममा तामाङ जाति निक्कै धेरै अगाडि रहेको देखिन्छ ।
हो, तामाङ जातिका अगुवा तथा बुद्धिजीवीले केवल राज्यको मुख मात्रै नताकेर आप्mनै बलबुँता र ल्याकतका भरमा आफ्नो जातिको इतिहास, ऐतिहासिकता, भाषा, आदिको खोजी गर्ने किताब एवम् जर्नलहरू प्रकाशित गर्नुका साथै दस्तावेजीकरण गर्ने काम गरिरहेका छन् । यसरी हेर्दा, तामाङ जातिका अगुवा तथा बुद्धिजीवीहरू आफ्नो जातिको जातीय इतिहास, ऐतिहासिकता, भाषा आदिको खोजी गर्ने क्रममा अरू जातिका अगुवा तथा बुद्धिजीवीहरूभन्दा अगाडि रहेको देखिन्छ । कसरी ? भन्दाखेरि तामाङ जातिले अहिलेसम्म १० औं पटक ‘तामाङ ज्ञान महोत्सव’ गरी सकेका छन् । जुन कामलाई हामीले चानचुने काम ठान्नुहुँदैन ।
त्यस्तै गरेर नेपालका अन्य जातिहरू जस्तै लिम्बू, मगर एवम् कथित् ‘राई !’, यहाँ कथित् ‘राई !’ जाति किन भनिएको, लेखिएको हो भने ‘राई !’ नेपालको कुनै जात वा जाति नभएर ऊ वेला केन्द्रमा शासन गर्ने शासकहरूले दिएको जिम्मावाल वा भनौं तालुकदारी ‘पद–पदवी–पगरी’ मात्रै हो । साथै यस्तो ‘राई !’ ‘पद–पदवी–पगरी’ जो पायो त्यो व्यक्तिले पाउँदैन थिए । स्थानीयस्तरका धनीमानी र सामन्तीले मात्रै ‘माटो–मुरी’का आधारमा किनेर लिन्थे, लिन पाउँथे, आदि जातजातिले पनि आफ्नै ढंगले ज्ञान महोत्सव गर्दै आएका छन् भन्ने सुनिन्छ । त्यस्ता ज्ञान महोत्सवमा प्रस्तुत गरिएका कार्यपत्रहरू किताबका रूपमा प्रकाशन गर्ने तथा दस्तावेजीकरण गर्ने काम पनि उनीहरूले गर्दै आएका छन् । जुनजुन जातजातिहरूले त्यसरी आफ्नै बलबुँता र ल्याकतमा ज्ञान महोत्सवहरू गरे, गर्दै आएका छन्, ती सबै सिंगो नेपाल देश र नेपालीहरूकै बौद्धिक सम्पत्तिका रूपमा रहेका छन्, रहिरहने छन् ।
वि.सं २०७८ मा भएको १२ औं राष्ट्रिय जनगणनाको तथ्यांकलाई हेर्ने हो भने नेपालमा १४० जातजाति, १२४ भाषाभाषी र १० वटा धार्मिक समूह रहेका छन् । ती सबै जातजाति, भाषाभाषी एवम् धार्मिक समूहको जातीय इतिहास, ऐतिहासिकता, भाषा, वेषभूषा, संस्कार, संस्कृति, वंश–परम्परा, पिता–पुर्खा, परम्परागत ज्ञानहरूको खोजी गर्ने काममा राज्य नै लागेमा अझ राम्रो हुने थियो । अथवा राज्यले देशमा बसोबास गर्ने सबै जातजाति, भाषाभाषी एवम् धार्मिक समूहको जातीय इतिहास, ऐतिहासिकता, आदि ज्ञानको खोजी गर्न सके सम्बन्धित जाति, भाषाभाषी र सम्बन्धित धार्मिक समूहको संगठन र तिनका अगुवा एवम् बुद्धिजीवीहरूमार्फत बजेट छुट्याएर खर्च गर्दा साह्रै राम्रो हुन्थ्यो ।
तर नेपालका ठूला भनिएका राजनीतिक दल जुन राजनीतिक दलहरूले सरकार बनाउने हैसियत राख्छन्, ती ठूला राजनीतिक दल र ती राजनीतिक दलका नेताहरूमा सायद यस्तो सोचाइ पटक्कै आउँदैन । अब हालै सम्पन्न भएको ‘१० औं तामाङ’ कसरी सुरु भयो, कहिले सुरु भयो ? भन्ने सम्बन्धमा जानकारी लिनेतर्फ लागौं । भाषाविद्का एवम् समग्र नेपालका आदिवासी जनजातिका हित चिन्तक तथा मातृभाषा शिक्षाका अगुवा अमृत योञ्जन–तामाङका अनुसार उहाँलाई वि.सं २०६५ मा नेपाल सरकार शिक्षा मन्त्रालयबाट भारतको आन्द्र प्रदेशमा ‘बहुभाषिक शिक्षासम्बन्धी कार्यक्रम’ अवलोकन गर्न जाने अवसर मिलेको थियो । त्यस भ्रमणमा उहाँ प्राविधिक सल्लाहकारका रूपमा भ्रमण टोलीको नेतृत्व गर्नुभएको थियो भने टोलीमा उहाँलगायत १५ जना रहेका थिए ।
एक हप्तासम्म भएको सो भ्रमणका क्रममा उहाँहरूले अवलोकन गरेको हरेक बहुभाषिक स्कूलको कक्षाकोठामा विद्यार्थी र शिक्षकको क्रियाकलापले सजिएको हुन्थ्यो । त्यस्तै हरेक स्कूलको एक कुनामा चाहिँ ज्ञान कुना (नलेज कर्नर) पनि व्यवस्था गरेको देखियो । जुन ज्ञान कुना (नलेज कर्नर) मा विद्यार्थीहरूले आआफ्नो गाउँ–घरमा पाइने वस्तुहरू सजाएर राखिएको हुन्थ्यो । त्यसरी ‘बहुभाषिक शिक्षासम्बन्धी अवलोकन भ्रमण गर्न जाने क्रममा अमृत योञ्जन–तामाङले भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीलगायत केही सहरमा ‘आदिवासी ज्ञान महोत्सव’ हुने गरेको पनि थाहा पाउनु भयो । यता नेपालमा चाहिँ आदिवासीहरूले ‘आदिवासी ज्ञान महोत्सव’को सट्टा ‘खाना महोत्सव’ र ‘वेषभूषा प्रदर्शनी’ गर्ने गरेको थियो ।
अमृत योञ्जन–तामाङका अनुसार उहाँ भारतबाट फर्किसकेपछि नेपालमा पनि विश्व आदिवासी दिवसका अवसरमा ‘आदिवासी ज्ञान महोत्सव’ मनाऔं न त भनी तत्कालै त्यस्तो प्रस्ताव लगेर आदिवासी जनजाति महासघंमा जानुभएको थियो । त्यस समयमा आदवासी जनजातिका प्रमुखमा आङ्काजी शेर्पा हुनुहन्थ्यो रे ?! महासघंका तत्कालीन प्रमुख आङ्काजी शेर्पाले तपाईँको प्रस्ताव धेरै राम्रो हो । तर पनि यस पटकलाई कार्यक्रम तय भइसकेको हुनाले ‘आदिवासी ज्ञान महोत्सव’ अर्को वर्षदेखि गरौं भन्नुभएको थियो रे ?! (सम्पादकज्यू, यस विषयमा १० औं ‘तामाङ ज्ञान महोत्सव’को अवसरमा ‘कि नोट स्पिकर’का रूपमा बोल्दा अमृत योञ्जन–तामाङले भन्नुभएको हो ।) तर आदिवासी जनजाति महासघंले ‘आदिवासी ज्ञान महोत्सव’ मनाउने त्यो अर्को वर्ष कहिल्यै आएन ।
त्यसैले दुःखमसुखम तामाङ जातिका केही अगुवा तथा बुद्धिजीवीहरू मिलेर वि. सं २०७२ देखि ‘तामाङ ज्ञान महोत्सव’को सुरुवात गर्नुभयो । जुन ‘तामाङ ज्ञान महोत्सव’को १० औं संस्करण भर्खरै (गएको भदौ ५ र ६ गते ) सम्पन्न भएको छ । विसं २०७२ मा सम्पन्न भएको पहिलो पटकको ‘तामाङ ज्ञान महोत्सव’को रौनक सम्झँदै अमृत योञ्जन–तामाङ भन्नु हुन्छ, ‘तत्कालीन शिक्षामन्त्री ज्यूले पहिलो ‘तामाङ ज्ञान महोत्सव’को उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत अतिथि गरेर लगभग एक दर्जन अतिथिहरू मञ्चमा आसीन थिए ।’ स्मरणीय कुरो के छ भने, पहिलो अनि दोस्रो ‘तामाङ ज्ञान महोत्सव’ तामाङ÷सोनाम ल्होसारको अवसरमा मनाइएको थियो ।
तेस्रोपटक चाहिँ भदौ ६ गते मनाउन थालियो । त्यसको खास कारण चाहिँ विसं १९८९ को भदौ ६ गतेका दिन तामाङ जातिका तत्कालीन अगुवा जंगवीर तामाङले तामाङ जातिले आफूले आफँैलाई तामाङ भन्ने, सम्बोधन गर्ने नाम, आफ्नो जातिको जातीय नाम (इन्डोनिम) तामाङ जुन हो, त्यो नाम लेख्न पाऊँ भनीकन तत्कालीन श्री ३ महाराज भीम शमसेर समक्ष बिन्तीपत्र लेखेका थिए । सोही बिन्तीपत्रअनुसार भीम शमसेरले इस्तिहार जारी गरेर आधिकारिक रूपमा अब उप्रान्त तामाङलाई तामाङ लेख्नू, लेखाउनु भन्ने आदेश जारी गरेका थिए ।
त्यसैले हरेक भदौ ६ गतेका दिन ‘तामाङ पहिचानका दिन’का रूपमा मनाउन थालिएको बताउनुहुन्छ, आदिवासी जनजातिका पक्षमा वकालत गर्दै, लेख्दै आउनुभएका तथा खुल्ला विश्वविद्यालय उप प्राध्यापक निष्णु थिङ । भनिन्छ, त्यसअघि तामाङ जातिलाई तामाङ नामबाहेक पनि मुर्मी, लामा, मुर्मी भोट्या, निसुङ, इसाङ, सेँ, लामा, काठभोटिया, भुटिया, थामाङलगायत एक दर्जन नामहरूले सम्बोधन गरिन्थ्यो । स्रोतः अमृत योञ्जन–तामाङद्वारा गत भदौ ५, ६ गते आयोजित ‘तामाङ ज्ञान महोत्सव’को अवसरमा प्रस्तुत गर्नुभएको मुख्य कार्यपत्रमा रहेको केही अंश । यसरी हेर्दा नेपालमा बसोबास गर्ने अन्य आदिवासी जनजातिहरूले पनि यस ज्ञान महोत्सवलाई महत्वका साथ हेर्नुपर्ने, सिक्नुपर्ने विषयका रूपमा रहेको देखिन्छ ।











प्रतिक्रिया