जनकपुरधाम ।
मधेस प्रदेश सोमबार दिनभर अराजक दृश्यको केन्द्र बन्यो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा शपथ गराएलगत्तै प्रदेशमा राजनीतिक विवाद चुलिँदा सांसदहरूले ताण्डव मच्चाएका हुन् । आक्रोशित बनेका गठबन्धन दलका सांसद र कार्यकर्ताले प्रदेश प्रमुखको कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म तोडफोड गर्दै प्रहरी र कर्मचारीमाथि कुटपिट गरेका थिए । यसै क्रममा उनीहरूले राष्ट्रिय झण्डासमेत फालेर आक्रोश पोखेका थिए ।
मुख्यमन्त्री यादवको शपथ कार्यक्रम पनि सामान्य सरकारी समारोहजस्तो जनकपुरधाममा नभई सिन्धुलीस्थित होटल पानसमा सम्पन्न भएको थियो । प्रदेश प्रमुख भण्डारीले अस्वस्थ रहेको भन्दै जनकपुरधामबाट काठमाडौं जाँदै गर्दा बाटोमै शपथग्रहण गराएको बताउनुभएको थियो । विपक्षी गठबन्धनले यसलाई ‘संविधान र संघीयताको अपमान’ भन्दै विरोध गरेको छ ।
नवनियुक्त मुख्यमन्त्री यादवले भने आफूले संविधानको धारा टेकेरमात्र पद ग्रहण गरेको दाबी गर्दै भन्नुभयो– ‘विश्वासको मत प्रक्रियासँगै धारा १६८ को उपधारा २ स्वतः निष्क्रिय हुन्छ । त्यसपछि ठूला दलको नेता भएको नाताले मलाई प्रदेश प्रमुखले नियुक्त गर्नुभएको हो । होटलमा शपथको व्यवस्था असामान्य अवस्थाका कारण गरिएको हो ।’
मुख्यमन्त्री यादवले पदबहालीपछि चार सदस्यीय मन्त्रीमण्डलको घोषणा गर्नुभएको थियो । उक्त मन्त्रीमण्डलमा एमालेका लखन दास, संघीय समाजवादी पार्टीकी विमला अन्सारी र राप्रपाकी कञ्चन विच्छा रहनुभएको छ । राप्रपाले कञ्चनलाई फिर्ता हुन निर्देशन दिइसकेको भए तापनि उहाँले मन्त्री पद त्याग गर्नुभएको छैन ।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाएपछि शनिवार राजीनामा दिनुभए पछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूला दलको हैसियतमा एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
प्रहरीका अनुसार भीड नियन्त्रणका क्रममा चार जना प्रहरी घाइते भएका छन् भने केही सरकारी कर्मचारीमाथि पनि हातपात भएको छ । एक प्रहरी अधिकृतका अनुसार स्थिति नियन्त्रणमा लिन बल प्रयोगका साथै अश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गरिएको थियो । अहिले प्रदेश प्रमुख तथा मुख्यमन्त्री कार्यालय परिसरलाई सुरक्षा घेराबन्दी गरिएको छ ।











प्रतिक्रिया