मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला 


काठमाडौँ। 

कार्तिक ३ गतेदेखि सम्पर्क विहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ बर्षिया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आईतबार दिउँसो करीब २ बजे फेला पारेको छ ।

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरु सम्पर्क विहीन भएका थिए ।  

उनीहरु सम्पर्क विहीन भएपछि उक्त होटलले  खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सम्पर्क विहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजीकार्य गरीरहेकोमा नभेटिएपछि पुन: कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसिको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरुको शव उक्त गुम्बाबाट करीब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो ।

शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।