काठमाडौं।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिवार बिहान निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतका स्वास्थ्य समस्या देखिएपछि लामो समयदेखि उपचाररत् आलमको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा निधन भएको हो ।
कांग्रेस नेता देवप्रसाद तिमल्सिनाका अनुसार आलम केही हप्ताअघि नै अस्पताल भर्ना हुनुभएको हो । अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरूले उहाँलाई केही दिनअघि भेन्टिलेटरमा राखेका थिए । शनिवार बिहान चिकित्सकको टोलीले उहाँको मृत्यु भएको घोषणा गरेको तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि काठमाडौंबाट रौतहट ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ । रौतहट जिल्लाको राजपुर नगरपालिका–९ निवासी आलम लामो समयदेखि स्थानीय र राष्ट्रिय राजनीतिमा सक्रिय नेता रहेका थिए । परिवारका अनुसार आलमको स्वास्थ्य अवस्था विगत केही महिनादेखि अस्थिर हुँदै आएको थियो । उपचारका क्रममा उनलाई केही महिनाअघि भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा लगिएको थियो । तर, त्यहाँ पनि स्वास्थ्यमा उल्लेख्य सुधार नदेखिएपछि उनलाई नेपाल फर्काइएको थियो । त्यसपछि काठमाडौं मेडिकल कलेजमा नियमित उपचार भइरहेका बेला शनिवार बिहान उनको निधन भएको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो राति रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहितका घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको आरोपमा उहाँलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, गत जेठमा उच्च अदालतले जिल्ला अदालतको मुद्दा उल्टाएर उहाँलाई थुनामुक्त गरेको थियो । ६ वर्ष जेल बिताएर उच्च अदालतको आदेशपछि थुनामुक्त हुनुभएलगतै उहाँलाई मस्तिष्क घात भएको थियो ।











प्रतिक्रिया