काठमाडौं।
नेपाल ट्रस्टको नाममा दर्ता गरिएको दरबार मार्गस्थित जग्गा लिजमा दिने क्रममा ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
उक्त घटना २०७४ साल वैशाख १४ गते भएको करार सम्झौतासँग सम्बन्धित छ । नेपाल ट्रस्ट र थामशेर्कु ट्रेकिङ प्रालिबीच भएको सो सम्झौतामा ट्रस्टको नाममा दर्ता कित्ता नं. ४६०६ का साथै कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिइएको आरोप छ । उक्त प्रक्रिया ट्रस्टको सञ्चालक समितिको औपचारिक निर्णय, कानुनी आधार र स्वीकृति विना भएको पाइएको प्रहरीले जनाएको छ ।
सम्झौतामा ट्रस्टको जग्गा भवन निर्माणका लागि केवल तीन वर्षका लागि उपयोग गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि ३० वर्षसम्मको लिज सम्झौता गरिएको अनुसन्धानबाट खुलेको छ । यसरी दीर्घकालीन रूपमा नेपाल ट्रस्ट र अन्तत ः नेपाल राष्ट्रकै स्वामित्वमा रहेको सम्पत्तिलाई हानि नोक्सानी पु¥याइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
प्रहरीका अनुसार, सो समयमा नेपाल ट्रस्टको कार्यालय दरबारमार्गमा सहसचिवका रूपमा कार्यरत रहेका कार्कीले आफ्नो पदको दुरुपयोग गरी निजी लाभका लागि गैरकानुनी सम्झौतामा सहयोग पु¥याएको देखिएको छ । उनलाई ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रह्रीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रस्टका तत्कालीन पदाधिकारी, सरकारी कर्मचारी र निजी क्षेत्रका केही व्यक्ति मिलेमतोमा गैरकानुनी लाभ लिएको आशंका गरिएको छ । प्रहरीले सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी र अनुसन्धान गरिरहेको जनाएको छ ।
उक्त मुद्दाको अनुसन्धान सीआईबीको टोलीले अगाडि बढाइरहेको छ । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, ट्रस्टको सम्पत्तिमा अनियमितता गरी राष्ट्रलाई आर्थिक हानि पु¥याउने कार्य कानुनी कारबाहीको दायरामा ल्याइने छ ।











प्रतिक्रिया