मण्ट्रियलमा नेपालको झण्डा फहराउँदै एभरेष्ट पायोनियर ट्रेक नेपाल


काठमाडौं।

क्यानाडाको मण्ट्रियलमा सुरु भएको ३५औं अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनीमा नेपालको उपस्थिती जनाउँदै एभरेष्ट पायोनियर ट्रेक नेपालले सहभागिता जनाएको छ । एभरेष्ट पायोनियर नेपालबाट सहभागी भएको एक मात्र पर्यटन कम्पनी हो ।

पेलाइस डेस कन्ग्रेस डे मण्ट्रियलमा शुक्रबारदेखि शुरु भएको यस प्रदर्शनीमा विश्वका झन्डै २ सयभन्दा बढी देशका पर्यटन र त्यस क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुले सहभागिता जनाएका थिए । यो प्रदर्शनी विश्वकै प्रतिष्ठित पर्यटन कार्यक्रमहरूमध्ये एक हो ।

प्रदर्शनीमा नेपालका हिमाल, संस्कृति, आध्यात्मिकता र साहसिक पर्यटनलाई आकर्षक ढङ्गमा प्रस्तुत गरिएको थि । कम्पनीका कार्यकारी निर्देशक शहदेव श्रेष्ठका अनुसार प्रदर्शनीमा नेपालको पहिचानलाई सर्वोच्च शिखर सगरमाथा, विविध संस्कृति र सहासिक यात्रा रुपमा चित्रित गरिएको थियो ।

पहिलो दिनमै करिब १० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका थिए । तीमध्ये धेरैजना नेपाल पभिलियनमा प्रदर्शन गरिएका हिमालय, मन्दिर, पदयात्रा, योग तथा ध्यान केन्द्रका चित्रहरूले चकित पारेको श्रेष्ठले बताए । उनका अनुसार अवलोकनकर्ताहरूले नेपालको पर्यटनबारे जानकारीमूलक ब्रोशर, ई–फ्लायर र बिजनेस कार्ड संकलन गर्दै आगामी भ्रमणका लागि उत्साह देखाएका थिए ।

अमेरिकी र क्यानाडाली आगन्तुकहरूले नेपाललाई सगरमाथा र प्राकृतिक सुन्दरता भरिएको देश भन्दै प्रशंसा गरेको जानकारी दिंदै श्रेष्ठले भने – “हामी नेपालको पर्यटनलाई विश्व बजारमा स्थापित गर्न निरन्तर प्रयासरत छौं । एभरेष्ट पायोनियर ट्रेक नेपाल केवल व्यवसाय होइन, नेपालको गौरव पनि हो ।”

कम्पनीले आगामी वर्षहरूमा उत्तर अमेरिकी बजारमा नेपालका ट्रेकिङ, पर्वतारोहण, सांस्कृतिक पर्यटन र वेलनेस (ध्यान–योग) भ्रमणका लागि विशेष प्याकेजहरू विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

यो प्रदर्शनीमा नेपालको सहभागिताले नेपालप्रतिको अन्तर्राष्ट्रिय चासो बढाएको जिकिर गर्दै श्रेष्ठले भने= “क्यानाडाका प्रमुख ट्राभल एजेन्टहरूले नेपाल भ्रमणमा सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् । मेला आयोजक एक्सपो मीडिया इन्कर्पोरेसनले पनि नेपालजस्तो अद्भुत गन्तव्यले प्रदर्शनीलाई समृद्ध बनाएको उल्लेख गरेको छ ।