काठमाडौं।
नेपाल श्रीलंकाको कोलम्बोमा जारी काभा यू–१९ महिला भलिबल च्याम्पियनसिप २०२५ को फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । यसअघि समूह चरणमा पनि नेपालले माल्दिभ्स्विरुद्ध सोही नतिजा निकालेको थियो ।
नेपालले माल्दिभ्सलाई क्रमशः २५–११, २५–३ र २५–५ को सहज सेटमा हराएको हो । नेपालले आइतबार हुने फाइनलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । कीर्गिस्तान यसअघि शनिबारै भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंकालाई २६–२४, २५–२१ र २५–१५ को नतिजासँगैं ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो ।
फाइनल खेलमा नेपाललाई लिग चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि जित्ने मौका समेत रहने छ । सोही दिनमै श्रीलंका र माल्दिभ्सबीच तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अंकतालिकाको शीर्ष स्थान स्थाममा रहदै अन्तिम चारको यात्रा तय गरेको थियो । चार टोलीको सहभागिता रहेको प्रतियोगिताको लिग चरणमा नेपालले तीन खेल खेलेर दुईमा जीत र एकमा हार व्यहोर्द ७ अंकसहित शीर्ष स्थानमा रहेको थियो। शीर्ष स्थानको नेपालले तालिकाको पुछारमा रहेको माल्दिभ्ससँग सेमिफाइनल खेलेको हो ।
नेपालले लिग चरणको पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो । तर, त्यसपछि भने नेपालले लगातार दुई खेल जितेको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली श्रीलंकालाई ३–१ सेटले हरायो भने तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।











प्रतिक्रिया