हिल्दुम विद्युत् वितरण केन्द्र पाँच दिन बन्द हुने

1.13k
Shares

सिमकोट । 

हुम्लाको सिमकोटसहित आसपासका गाउँपालिकाका केही वडामा विद्युत् आपूर्ति गर्ने हिल्दुम विद्युत् वितरण केन्द्र पाँच दिनका लागि बन्द हुने भएको छ ।

वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार हिल्दुमस्थित पावरहाउसको इन्टेक, फर्बे र ओभरफ्लोका केही भागमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले कार्तिक २३ गतेदेखि २७ गतेसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा रोकिनेछ ।

उनका अनुसार मर्मत अवधिमा सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने भएकाले उपभोक्ताहरूलाई असुविधा हुने भए पनि सुरक्षित र दिगो वितरण सुनिश्चित गर्नका लागि यो काम गर्न आवश्यक रहेको बताइएको छ । मर्मत कार्य सम्पन्न भएपछि हिल्दुम वितरण केन्द्रबाट नियमित रूपमा विद्युत् प्रसारण सुरु गरिने इन्जिनियर शाहले जानकारी दिए ।