काभ्रेको पनौतीमा रहेको सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

1.32k
Shares

काभ्रे। 

सरकारको आफ्नै स्वामित्व रहेको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमपतिपत्र (लाइसेन्स) छपाई कार्य शुभारम्भ गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गरेका हुन् । 

पनौती नगरपालिका वडा नम्बर ५ मा रहेको साबिकको आइटी पार्कलाई सुरक्षण मुद्रण केन्द्र बनाउने तत्कालीन मन्त्री गोकुल बास्कोटाको प्रस्तावलाई प्रधानमन्त्री केपी ओली सरकारले निर्णय गरेसँगै २ सय ३५ रोपनी क्षेत्रफलको प्रयोग विहीन संरचनामा नेपालका लागि आवश्यक पर्ने अत्यावश्यक कागजात, कार्ड र बैक नोेट छाप्ने तयारी स्वरुप सुरक्षण मुद्रण केन्द्र स्थापना गरिएको थियो । ‘अघिल्ला सरकार, मन्त्री र यो केन्द्र संचालनका लागि विभिन्न रुपले सहयोग पु¥याउने तथा यहाँसम्म ल्याउने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु’–मन्त्री खरेलले भने–‘विगतका घटना, मुद्दामामला तथा आशंकाहरु चिर्दै शुसासन र पारदर्शिताका साथ सरकारले यो केन्द्र संचालनमा ल्याएको छ ।’ सवारी लाईसेन्सका साथै अन्य महत्वपूर्ण सरकारी कागजात र कार्डमा आधारित सेवाका साथै निजी क्षेत्रका लागि आवश्यक पर्ने अन्य कागजातहरु पनि यही केन्द्रबाट छपाई गर्ने गरी मन्त्री नियुक्ति भएको पहिलो बैठबाट नियमावली शंशोधन, नितीगत ब्यवस्था, श्रोत सुनिश्चितता र जनशक्ति ब्यवस्थापन लगायतका कार्यहरु सुरु गरिएको मन्त्री खरेलले बताए ।

 ‘खण्डहर बनेको संरचनामा धुलो टकटक्याउँदै काम गर्न सुरु गरेका छौँ । अर्बाैको लगानी छ । भवनहरु जिर्ण छन् । खरिद गरिएका मेशिनहरु प्रयोगविहीन छन् । भवनहरु अलपत्र छन्’–मन्त्री खरेलले भने–‘यसका बाबजुद पनि सवारी चालक अनुमितपत्र छाप्ने हिम्मत गरेका छौँ ।’ यो सरकारका लागि बोझ नभई आयश्रोतको राम्रो माध्यम र नागरिकहरुलाई सेवा प्रदान गर्ने पहिलो र अब्बल संस्थाका रुपमा चिनाउने गरी कार्य प्रारम्भ गरेको उनले बताए । विदेशी पुँजी रोक्न र नागरिकहरुलाई आजको भोली नै सेवा प्रदान गर्न सुरक्षण मुद्रण केन्द्र सक्षम रहने उनले बताए । यो केन्द्रबाट लाइसेन्स पछि पहिलो चरणमा ९ वटा सरकारी कागजात छाप्ने तयारी सरकारले गरेको उनले बताए । पुरानो संरचना बाहेक सुरक्षण मुद्रण केन्द्रका लागि ३ अर्बको लगानी भइसकेको छ । 

पहिलो चरणमा प्रति दिन ५ सय लाइसेन्स छापिनेछ । ६ महिना भित्र १२ लाख लाइसेन्स छापिने गरी तयारी गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले ३० लाख नागरिकको लाइसेन्स यही अवधिमा छापिने दाबी गरे ।