दोषीलाई कारबाही गर्न ढिलाइले उब्जाएको प्रश्न

188
Shares

कारबाही भनेर आम जनता र जेन्जी समूहले चाहेका व्यक्तिलाई कारबाहीको घेरोमा पार्न नसक्नाको मुख्य कारण कार्की नेतृत्वको सरकार आफैँ भित्रदेखि डरायो अथवा देशका हरेक काम कारबाहीलाई व्यापक प्रभाव पार्ने गरी हुने गरेको भ्रष्टाचारको जालो वर्तमान सरकारले च्यात्न नै चाहेको छैन कि भन्ने पनि अनुमान लगाउन सकिन्छ

जेन्जी पुस्ताको आन्दोलनले पुराना राजनीतिक दलका नेताद्वयलाई देशमा भ्रष्टाचार बढाउने अनि देशको विकासका बाधक व्यक्तिको रूपमा दोषी ठहर गरिसकेको छ । नेताहरूले जे फलाके पनि उनीहरूका घरमा आगो लाग्दा भण्डारण गरेको पैसासमेत जलेको थियो । तर कसैले नक्कली पैसा भनेर लाज ढाक्न खोजे त कसैले दशैँ चाडलाई चाहिने पचास र बीस रुपियाँका नयाँ नोटका बिटा भएको भनेर फलाको हाले ।

जेन्जी पुस्ताले नाङ्गेझार बनाइसक्दा पनि उनीहरू आफ्नो आङमा कपडा छ र त्यसले हाम्रो लाज बचाइरहेको छ भनेर ठूलो स्वरमा फलाको हाल्दै थिए ।नेताद्वयपछिका अलि नजिकका नेता पनि उनीहरूले फालेको जुठो पुरोमा रमाउने र नेताद्वयले गरेका विविध खालका भ्रष्टाचारका काण्डलाई उजागर गर्ने नभएर अझै बलियो बनाउँदै लगेर देश र जनता चुस्ने काममा यति धेरै लम्पट भएर लागे कि अरूले कुरी कुरी गरेर औँलो हल्लाएको पनि देख्नको लागि उनीहरूको दृष्टि पुगेन ।

आमूल परिवर्तन ल्याउने र देश र जनतालाई सुख दिने कर्ममा लागेका भनिएका नेतालाई भ्रष्टाचारको पाठ सिकाउने सरकारी कर्मचारी, अनि त्यसमा पनि मन्त्रालयका सचिव राजनीतिमा लागेका भनिएका नेतात्रयभन्दा पनि खुन्खार भ्रष्टाचारी हुन् । तिनै सचिव र कर्मचारीले सिकाएर राजनीतिमा लागेका नेताले समेत यस्तो पाप कर्म गर्न थालेका हुन् । त्यसैले भ्रष्टाचारी कर्मचारी, सचिव आदिलाई पनि कारबाहीको उचित घेरामा पारेर आइन्दादेखिका कोही पनि कर्मचारीले भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने गरी कारबाही हुन जरुरी छ ।

जेन्जी समूहको आन्दोलनपछिको समयमा जेन्जी समूहलगायतका आम जनताले ती भ्रष्टाचारको आहालमा डुबेका जोसुकैलाई पनि वर्तमानको अन्तरिम सरकारले कारबाहीको दायरामा चाँडै नै ल्याउला कि भन्ने लागेको थियो । तर प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको वर्तमानको अन्तरिम सरकारले तदारुकता देखाउन सकेको पाइँदैन । किन सरकार हच्केर पछाडि सरेको हो ? भन्ने कुरा सामान्य जनतालाई थाहा हुने कुरो पनि भएन ।

जेन्जी पुस्ताको मुख्य उद्देश्य भनेको नै भ्रष्टाचाररहित शासन र समाज निर्माणको तीव्र अभिलाषा हो । दोषीलाई कारबाही गर्ने आधार नभएर हो र शीर्ष नेताद्वयको हकमा हो भने उनीहरूको पैसाको गोदामबाट त्यति धेरै (अरबौँ रुपैयाँ) जलेको देखेर पनि अरू प्रमाण खोज्नु भनेको उचित कारबाही गर्न डराएर हच्कनु वा पूर्वाग्रह राखेर केबल नाटक रचना गर्नु मात्र हो । जेन्जी पुस्ताले देशको लागि गरेको बलिदानीको मजाक उडाउनु मात्र हो ।

प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बनेको पनि डेढ महिनाभन्दा अधिक समय भइसकेको छ । तर कारबाही भनेर आम जनता र जेन्जी समूहले चाहेका व्यक्तिलाई कारबाहीको घेरोमा पार्न नसक्नाको मुख्य कारण कार्की नेतृत्वको सरकार आफैँ भित्रदेखि डरायो अथवा देशका हरेक काम कार्यावाहीलाई व्यापक प्रभाव पार्ने गरी हुने गरेको भ्रष्टाचारको जालो वर्तमान सरकारले च्यात्न नै चाहेको छैन कि भन्ने पनि अनुमान लगाउन सकिन्छ । यदि सरकार पनि देशमा भइरहेको भ्रष्टाचार जस्तो अपराधलाई कानुनी मान्यता दिन खोज्दै छ भने जेन्जी समूहको भ्रष्टाचार नियन्त्रण गरेर देशमा सुशासनको जग बसाउने सोच कहिल्यै पनि पूरा हुने छाँट देखिँदैन ।

अदालतमा मुद्दा पर्नु, अदालतले दोषी ठहर गर्नु अनि उचित कारबाहीको दायरामा ल्याउने भन्ने कुरो धेरै लामो हुनुका साथै कैयौँ प्रमाणहरू नष्ट भएर गइसकेका हुन्छन् । उनीहरू स्वयम्ले पनि प्रमाण नष्ट गर्ने गराउने हरेक प्रयास गर्न सक्छन् । जसका अनुसार नेताद्वयमध्येका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारको बहानामा पत्नी आरजुसहित विदेश गइसकेका छन् । अब सायद ती दम्पत्ति नेपाल नफर्कन पनि सक्छन् ।

त्यति मात्र होइन कि यथासक्य छिटो कारबाही नभए भोलिका दिन कमरेड प्रचण्ड, कमरेड केपी ओलीलगायतका दोषी व्यक्तिहरू देश छोडेर विदेश जाने अनि उतैबाट तानावाना बुनेर आफूले गरेको अपराध कर्मबाट मुक्ति पाएको नाटक रचना गर्न बेर लगाउँदैनन् । देउवा दम्पत्तिलाई विदेश जानबाट रोक्न नसक्ने सरकारले भोलि ओली, प्रचण्डले पनि उपचारको बहानामा विदेश जाने कुरा बताउँदा उनीहरूलाई रोक्ने संयन्त्र खै के बनाउला र सरकारले ?

तेस्रो कुरो हालको अन्तरिम सरकारका प्रमुख व्यक्ति सुशीला कार्की आफैँमा सन्तानकी आमा पनि हुन् । स्कुलको पोसाक लगाएका बालबालिकामाथि निर्मम बनेर गोली ठोक्न लाउने अपराधीलाई अधिकारको कुर्सीमा बस्नेले जेन्जी पुस्ताले चाहेअनुसारको कारबाही गर्न सकिएन भने जेन्जी पुस्ताका सामु मुख देखाउने अवस्था रहला कि नरहला ? भन्ने कुरा पनि हेक्का राख्नै पर्ने हुन्छ । शासनको बागडोर सम्हालेर कुशासनको आहालमा डुबेकालाई भोलिका दिनमा राजनीतिको क्षेत्रतिर लाग्न त परै जाओस् चियाउनसमेत लाज लाग्ने गरी कारबाही हुनु जरुरी छ । अन्तरिम सरकारको प्रमुख उद्देश्य भनेको भ्रष्टाचार नियन्त्रण गर्दै, भ्रष्टाचारी जोसुकैलाई उचित कारबाही गर्दै सबैलाई समेटेर चुनाव गराउने र सत्ता हस्तान्तरण गर्ने हो ।

भ्रष्टाचार मास्लोस्तरमा मात्र व्याप्त भएको होइन । प्रदेश सरकार, स्थानीय निकायसम्म पनि जालो बनेर रहेको छ । वडास्तरमा समेत भ्रष्टाचारका अखण्ड तानावान बुनिएको पाइन्छ । बाटोघाटो, पुलपुलेसा बनाउने काममा पनि अनियमितताका तानावाना बुनिएका हुन्छन् । २०६२ सालदेखि २०८२को जेन्जी आन्दोलनसम्मका दुई दशकभित्र सबैभन्दा धेरै स्थानमा गेटहरू निर्माण भएको पाइन्छन् । गाउँपालिका र नगरपालिकाले एउटा गेटको लागि भनेर २५ देखि २७ लाख बजेट छुट्याएको हुँदो रहेछ । अलि पत्याउने खालको गेट बनाउँदा अधिकतम दशदेखि १२ लाख रुपियाँ खर्च लाग्दो रहेछ भने बाँकी पैसा व्यक्तिको झोलामा पस्दो रहेछ ।

अझ कतै कतै त तल जमिनमा फलामा दुईओटा खाँवा पनि होइन पाइप उभ्याएर माथि दुईओटा डण्डी जडान गरी फलानो ठाउँले तपाईँको स्वागत गर्दछ भनेर लेखेको पातामा रङ दलेर पनि गेट बनाउने र त्यसका लागि दुई देखि ३ लाख खर्चेर अरू सबै खल्तीमा दाखिला हुँदो रहेछ । गेटपछि अर्को नाफा कमाउने संरचना भनेको भ्यु टावर रहेछ । भ्यु टावरका लागि भनेर देखाइएको बजेटको आधा बजेटले भ्यु टावर निर्माण कार्य सम्पन्न हुँदो रहेछ भने आधा बजेट खल्ती दाखिलामा जाँदो रहेछ । अझ भ्यु टावर बनाउने ठेक्का लिएका कोही ठेकेदारले लामो समय लगाएर बनाउँदै जाने अनि पहिले तोकिएको बजेटले नपुगेको अभिनय गरेर पुनः अर्को वर्षको बजेर कुम्ल्याउने पनि मेसो मिलाउने गर्दा रहेछन् ।

आखिर जे र जस्ता रूपमा भ्रष्टाचार भए पनि भ्रष्टाचार एउटा मानसिक रोग हो । हामी नेपाली जनताले यो रोगले राम्ररी नै सिकार बनाएको छ । यही कारणले गर्दा स्वदेशमा उद्योगधन्दाको विकास हुन नसकेको हो । आम नेपाली युवा बेरोजगार बनेर विदेश जान बाध्य बन्नु परेको हो । कम्तीमा कुनै पनि विकास योजनालाई तोकिएको रकम शतप्रतिशत खर्च गरेर काम गरिने हो भने हाम्रै देशमा चाहिँदो उद्योगधन्दाको विकास हुन सक्ने थियो । हाम्रा युवाले स्वदेशमै रोजगारी पाउने थिए । सचेत युवावर्गले भरिएको देशको विकास नभई रहने थिएन । राजनीतिको वृत्तमा पनि युवाको उपस्थिति र खबरदारीले गर्दा शासकले स्वेच्छाचारी शासन गर्न पाउने थिएन ।

देशमा एउटा सुव्यवस्थित राजनीतिक अवस्था सिर्जना हुने थियो । देशमा रहेका जलसम्पदा, खनिज सम्पदा, वनसम्पदा जस्ता अथाह सम्पदाको चुस्त र व्यवस्थित उपयोगले हामी नेपालीको जीवनको स्तर अरू विकसित देशको तुलनामा नै माथि उठ्न सक्ने थियो । विदेशी दाताले दिएको दान पनि हामीकहाँ सदुपयोग भएको पाइँदैन भन्ने कुरा यथार्थ हो । जसको ज्वलन्त उदाहरण हेर्दा २०७२ सालको वैशाख १२ गते गएको भूकम्पबाट धेरै मानिसको मृत्यु भयो भने कैयौँले घरबारबिहिन भएर बाँच्नुपर्ने अवस्था आयो । यो अवस्थामा विदेशीले राम्रै गुणस्तरका दोलाइँ ,तन्ना आदि सहयोग गरेर आम नेपाली जनताले यो विपत्को बेलामा केही राहत महसुस गर्न पाउन् भन्ने पवित्र उद्देश्यले दिएका भए पनि गुणस्तर भएका विदेशीले दान गरेका कम्बलले अधिकारवाला मान्छेका घर भरिएर नेपाली जनताले चाहिँ गुणस्तरहीन कम्बल मात्र र त्यसमा पनि पहुँचवालाले मात्र हासिल गरेको देख्न र भोग्न पाइयो ।

पुराना राजनीतिक दलका वृद्ध हुन् कि युवा नेता हुन् तिनीहरूमध्ये करिब ९५ प्रतिशत नेतामा भ्रष्टाचारी भावनाले बलियोसँग जरो गाडिसकेको छ । त्यसकारण उनीहरूले मौका पाएको खण्डमा देश र जनता नलुटी छोड्नेवाला छैनन् । आफूलाई तल्लो स्तर (गाउँपालिका, नगरपालिका, प्रदेश सरकार) यी सारामा निर्वाचित भएर जनताको काम गर्न आउने नाममा लुटधन्दा कसरी मच्चाउने ? भन्ने सोचाइ र मौकाको खोजीले मानसिकता भरिएको हुन्छ । त्यो खराब सोचाइलाई समूल रूपमा नष्ट गरेर अनियमित काम गर्नु पाप हो, पाप कर्मले आफू स्वयम्लाई पोल्छ वा हानी गर्छ भन्ने धारणा अन्तरिम सरकारले आम कर्मचारी र आम राजनीतिक कार्यकर्ताको दिमागी सोचमा घुसाउन सक ेमात्र जेन्जी पुस्ताको भ्रष्टाचार नियन्त्रण र सदाचारी शासनको सोचाइ अनि क्रियाकलाप साथर्क बन्ने छन् ।

आम स्वाभिमानी नेपालीको इच्छा वा रहर पनि के हो भने यतिका वर्ष शासनको कुर्सीमा बसेर अवैधानिक रूपमा जनता र देश लुटेर खोक्रो बनाउने देशघाती अपराधीलाई उचित कारबाही गर्न वा गराउन किन हच्केर बसेको छ ? यही हच्काइले गर्दा कारबाही होला कि भन्ने डरका मारे अनेक बहानामा विदेशतिर भाग्ने काम पनि हुँदैछन् ।

अन्तरिम सरकारलाई पुनः यही प्रश्न छ कि दोषीलाई कारबाही किन नगरेको हो ? सकिन्छ भने यथा समयमा कारबाही होस् वा गरियोस् यदि सकिँदैन भने सक्नेलाई र सक्छु भन्नेलाई उचित मौका दिएर आफूले सक्ने कर्मतिर लाग्नु नै उचित हुनेछ । अब पनि तदारुकता नदेखाएर ढिलढाल गरिरहँदा आम नेपाली जनता र जेनजी समूहको समेत धैर्यको बाँध नटुटोस् भन्ने कुरामा पनि ध्यान जान जरुरी छ ।