यो जिन्दगी पनि एउटा तार जस्तै हो । यो तारलाई जस्तै तन्क्याएर राखिएको छ । यस जीवनरूपी डोरीमाथि सबैले हिँड्नु छ । यदि लडियो भने चोट लाग्नेछ । शारीरिक चोट लाग्नेछैन, बरु मानसिक चोट लाग्नेछ । भित्रबाट पीडा हुनेछ, दुःख हुनेछ ।
सबैभन्दा पहिला सबैले एउटा कुरालाई बुझ्नु आवश्यक छ । यहाँ जुन चीजको चर्चा गर्न लागिएको छ, त्यो सबैभित्र पहिलेदेखि नै विद्यमान छ । तपाईँहरूले एउटा कुरा अवश्य सुन्नुभएको होला, ‘जे–जे हामी चाहन्छौँ, जुन शान्तिको हामीले इच्छा राख्छौँ, त्यो हामीभित्रै छ ।’ तर, हामी आफैंले आफ्नो जीवनमा जबसम्म त्यस चीजको अनुभूति गर्दैनौँ तबसम्म हामीलाई बाहिरको कुरामा अल्झिएर केही फाइदा हुँदैन ।
जिन्दगीमा केही यस्ता कुराहरू हुन्छन्, जसलाई मानिस आफैंले अनुभूत गर्न आवश्यक छ । जस्तै— खाना । यदि कसैले खाना दियो र तपाईँले खाइरहनुभएको छ, तर जसले खाना दियो, उसले भनोस्, ‘अब पुग्यो । तपाईँले धेरै खानुभयो । तपाईँको भोक मेटिसकेको छ । अब तपाईँले खान आवश्यक छैन त्यसैले म अब थाल लिएर जान्छु ।’ त्यस बखतमा तपाईँ के भन्नुहुन्छ ? यदि तपाईँलाई अभैm पनि भोक लागेको छ भने तपाईँ भन्नुहुन्छ, ‘पख्नोस्, अहिले होइन ।’ किनकि, यो व्यक्तिगत कुरा हो । मेरो सट्टामा अरू कसैले पनि भन्न सक्दैन, ‘तपाईँको तिर्खा या भोक मेटियो ।’
मैले देखेको छु, जब कतै मेला लाग्छ या चटक देखाइन्छ, त्यहाँ चटकेले चटक देखाउँदा उसले एउटा तारमाथि हिँडेर देखाउनुपर्छ । यदि त्यो तार भुइँमा छ भने त्यसमाथि जो पनि हिँड्न सक्छ । यदि लडिहाल्यो भने पनि केही छैन । तर, त्यो तार त सय–दुई सय फिट माथि छ । त्यसमाथि हिँड्नु भनेको सबैको क्षमताको कुरा होइन । त्यसमाथि जोसुकै त हिँड्नै सक्दैनन् । डर लाग्छ— ‘यदि लडेँ भने चोट लाग्छ ।
लडेँ भने म मर्न पनि सक्छु ।’ तर, ती चटके र चटकी चटक देखाउनका लागि त्यो तारमाथि हिँड्छन् । त्यस तारमाथि हिँड्नका लागि तिनीहरूले एउटा लामो बाँस लिन्छन् र बिस्तारै–बिस्तारै आफ्नो खुट्टासँग सन्तुलन मिलाउँदै अघि बढ्छन् । यदि सन्तुलन बिग्रियो भने ड्याम्म मुनि लडिन्छ । त्यसैले उनीहरू एक–एक पाइला ध्यान दिएर हिँड्छन् । उनीहरू त्यसमाथि दौडिँदैनन् । उनीहरू हेर्छन्, अहिले सन्तुलन छ । त्यसपछि फेरि एक पाइला अघि सार्छन् । बिस्तारै–बिस्तारै एक–एक पाइला चाल्दै अघि बढ्छन् ।
यो जिन्दगी पनि एउटा तारजस्तै हो । यो तारलाई जस्तै तन्क्याएर राखिएको छ । यस जीवनरूपी डोरीमाथि सबैले हिँड्नु छ । यदि लडियो भने चोट लाग्नेछ । शारीरिक चोट लाग्नेछैन, बरु मानसिक चोट लाग्नेछ । भित्रबाट पीडा हुनेछ, दुःख हुनेछ । यदि बाहिर कुनै दुखाइ छ भने डाक्टरकहाँ जान सक्छन् । डाक्टरले दुखाइको ट्याब्लेट दिन्छन् । त्यो ट्याब्लेट खाएपछि दुखाइ ठिक हुन्छ । तर, यदि मानसिक पीडा भयो भने दुखाइको औषधी खाएर त्यो सन्चो हुँदैन । त्यसले त भित्रभित्रै दुःख दिइरहनेछ । के तपाईँसँग कुनै त्यस्तो सामग्री छ, जसको मद्दतले तपाईँ त्यो डोरीबाट झर्नुहुन्न ? के तपाईँसँग कुनै सामग्री छ, जसबाट तपाईँको जीवनमा केही त्यस्तो हानि हुँदैन ?
केही मानिसहरू भन्छन्, ‘जीवन डोरी जस्तो छैन । जीवन त जस्तो छ, त्यस्तै छ । सृष्टिकर्ताले जस्तो दिए, त्यस्तै छ । जे–जस्तो हुनेछ, त्यो सृष्टिकर्ताको हातमा छ ।’ तर, दुःख त भित्र हुन्छ नि ? सृष्टिकर्ताले त जे–जस्तो गर्छन्, उनले गर्छन् तर उनले हामीलाई के दिएका छन् ? हामीलाई एउटा उपहार दिएका छन् ।
यस संसारमा जति पनि प्राणी छन्, ती सारा प्राणीहरूमा सृष्टिकर्ताले कुन चीजको तिर्खा लगाएका छन् ? शान्तिको तिर्खा लगाएका छन् । सबैले आफ्नो जीवनमा शान्ति चाहन्छन् । चाहे कोही ठूलो मान्छे होस् या सानो मान्छे, पढेलेखेको होस् या अनपढ— सबै शान्ति चाहन्छन् । शान्तिको इच्छाले कुनै कुराको वास्ता गर्दैन । संसारभरका मानिसहरू भन्छन्, ‘यसले पढे–लेखेको छ, यसले पढेलेखेको छैन, यो असल मान्छे हो, यो असभ्य छ, यस्तो छ, उस्तो छ ।
यो दुब्लो छ, यो मोटो छ, यो पुड्को छ, यो अग्लो छ, यो कालो छ, यो गोरो छ ।’ तर, शान्तिको चाहना एउटा यस्तो कुरा हो जसले कुनै पनि चीजको पर्वाह गर्दैन र त्यो सबैमा हुन्छ । म पनि आफ्नो जीवन सफल बनाउँछु भन्ने इच्छा सबैको हृदयमा हुन्छ । सबैलाई लाग्छ — ‘म पनि जिन्दगीको डोरीको एक छेउबाट अर्को छेउमा जसरी भए पनि पुगूँ । किनकि, यदि म अर्काे छेउमा पुगेँ भने मैले सफलता प्राप्त गर्नेछु । मलाई शान्तिको अनुभूति हुनेछ । आफैंले अनुभूति गर्नेछु ।’ जब व्यक्तिगत रूपमा अनुभव हुनेछ, तब म आफ्नो हृदयसँग भन्न सक्नेछु— ‘हे ! सृष्टिकर्ता तिमीलाई धेरै धेरै धन्यवाद !’
आज मानिसहरू सृष्टिकर्तासँग प्रार्थना गर्छन्, ‘हे ! भगवान्, तिमीले मलाई यस्तो किन बनाएनौ ? तिमीले मलाई यो किन दिएनौ ? तिमीले उसलाई त दियौ तर मलाई दिएनौ ।’ तर, जब यो हृदयरूपी भाँडो शान्तिले भरिन्छ, तब मानिसले त्यस्तो भन्दैन । त्यतिबेला उसले भन्नेछ, ‘हे ! ईश्वर ! तिमीलाई धेरै धेरै धन्यवाद ! तिमी धन्य छौ, तिमीले मलाई बनायौ । मेरो जीवनमा शान्तिको तिर्खा लगायौ र के पनि सम्भव बनायौ भने म त्यो शान्तिसम्म पुग्न सक्छु ।’
यो हो राम्रो कुरा । जबसम्म तपाईँ आफैंलाई शान्तिको अनुभूति हुँदैन तबसम्म ‘शान्ति शान्ति’ भन्नेहरूसँग तपाईँको केही सरोकार छैन । केही मानिसहरू भन्छन्, ‘लागिराख बाबु, लागिराख ! अन्त्यमा यदि सबै कुरा ठीक भयो भने तिमीलाई शान्ति प्राप्त हुनेछ ।’ यो कस्तो कानुन हो ? ‘लागिराख, लागिराख ।’ यदि यस्तै अवस्था हुनु थियो र व्यक्तिगत अनुभवको केही महŒव छैन भने सृष्टिकर्ताले हामीभित्र त्यो शान्तिको प्यास किन लगाए ?
मान्छेलाई पानीको तिर्खा लाग्छ, त्यसैले त्यो तिर्खा मेटाउनका निमित्त पानी पनि बनाए । यदि सृष्टिकर्ताले मान्छेभित्र पानीको तिर्खा लगाएर पानी सृजना नगरेका भए त्यस अवस्थामा अचम्म हुन्थ्यो । सृष्टिकर्ताले मान्छे (प्राणी) मा श्वास लिने आवश्यकतालाई बनाए र हावा पनि बनाए । उनले सबै चीजहरूको प्रबन्ध गरेका छन् तर हामीले त्यो कुरा बुझ्न सक्दैनौँ । हामी आँखा बन्द गरेर भन्दछौँ, ‘म डोरीमाथि हिँड्नका लागि तयार छु । मलाई मुनिबाट भनिराख्नू— म के गरूँ, अब के गरूँ, अब के गरूँ ।’ यसरी भन्दाभन्दै त मान्छे लड्नेछ । अनुभव नभएसम्म, मानिसले भित्र अनुभूति नगरेसम्म उसले भन्न सक्दैन, ‘हो मैले पनि त्यस चीजको अनुभव गरेको छु । मलाई पनि थाहा छ, त्यो के हो ।’ किनकि, निजी अनुभूतिलाई कसैले पनि बेवास्ता गर्दैन । त्यसमा बहसको कुरा छैन । त्यसमा ‘हो’ र ‘होइन’ को कुरा छैन ।
यो मेरो अनुभवको कुरा हो । म मानिसहरूलाई यही कुरा सोध्दछु— यस संसारमा तपाईँको आफ्नो अनुभव के छ ? एक दिन राम्रो भयो, अर्को दिन नराम्रो भयो । कहिले समस्या पर्छ, कहिले राम्रो समय हुन्छ, केवल यस्तै अनुभव रह्यो र मान्छे यही सुख–दुःखमा अल्झिरह्यो भने यसबाट के फाइदा हुन्छ ? किनकि, राम्रो नराम्रो त पशुपन्छीहरूलाई पनि थाहा हुन्छ । आफ्ना लागि राम्रो के, नराम्रो के— त्यो त उनीहरूलाई पनि थाहा छ । अनि, यो मानव शरीर किन प्राप्त भयो ? यसको गुण के हो ? ज्ञान प्राप्त गर्न सक्नु । यसबाट तपाईँभित्र रहेको शान्तिको अनुभूति गर्न सक्नुहुन्छ । जबसम्म तपाईँको शरीरमा यो श्वास आइरहेको छ, गइरहेको छ— यो तपाईँको समय हो । जे जति कमाउनु छ, कमाउनुहोस् ।
यदि भोक लागेको छ भने अहिले नै आफ्नो भोक मेटाउनुहोस् । जे–जे गर्नु छ, त्यो अहिले नै गर्नु छ । जबसम्म यो श्वास आउँदै छ, जाँदै छ, यो श्वासभित्र के लुकेको छ ? यो श्वासभित्र लुकेको छ— साँचो शान्ति । यो श्वास केही नगरिकन आउँछ र जान्छ । केही गर्नुपर्ने आवश्यकता छैन । यो आउँदा यसले तपाईँको जिन्दगीलाई लिएर आउँछ । जुन दिन यो आउन छोड्छ, त्यस दिन के रहनेछ ? ठूलाभन्दा ठूला राजालाई पनि चितामाथि सुताइदिनेछ । किनकि, जुन चीजसँग हामी प्रेम गर्छौँ; वास्तवमा त्यो चीज यो शरीर होइन, यो छाला होइन । त्यो हो— श्वास ।
त्यो तपाईँभित्र पनि आइरहेको छ र मभित्र पनि आइरहेको छ । यो श्वासको महŒव के हो भनेर तपाईँले बुझ्नु छ । म ठाउँ–ठाउँमा गएर मानिसहरूलाई यही सन्देश दिन्छु— जुन तिर्खाले तपाईँ व्याकुल हुनुहुन्छ, त्यो तिर्खा पनि तपाईँभित्र छ र त्यो कुवा जसमा पानी छ, त्यो पनि तपाईँभित्रै छ । यदि तपाईँले आफ्नो ध्यानलाई भित्रतिर केन्द्रित गर्नुभयो भने तपाईँको पूरै जीवन आनन्दै आनन्दले भरिनेछ । जीवनभरि आनन्द प्राप्त भइरहनेछ ।
यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छः जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेको छौँ ।
हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले– ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईँको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।
हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, ‘विश्वमा शान्ति हुनुपर्छ ।’ म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?
(संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल)











प्रतिक्रिया