एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा


काठमाडौं ।

एनसेल र मेटलाइफ नेपालबीचको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक नयाँ योजना सुरु गरिएको छ । यो सेवा लिने ग्राहकले मोबाइल डेटा सेवासँगै जीवन बीमा र घातक रोग (क्रिटिकल इलनेस) बीमाको सुविधा एकैसाथ पाउनेछन् ।

नेपालमै पहिलो पटक सुरु गरिएको यस योजनाअन्तर्गत एनसेलका ग्राहकले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर डेटा प्रयोगसँगै बीमाको फाइदा लिन सक्नेछन् ।

पहिलो प्याकेज करसहित ९९ रुपियाँको छ । तीन दिनको अवधिका लागि मान्य यो प्याकमा १०० एमबी डेटा, २ लाख रुपियाँ बराबरको म्यादी जीवन बीमा र २ रुपिया लाख बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म लागू हुन्छ ।

दोस्रो प्याकेजको मूल्य ३९ रुपिया रहेको छ । यसमा पनि तीन दिनको अवधिका लागि १०० एमबी डेटा, ५० हजार रुपिया बराबरको म्यादी जीवन बीमा र ५० हजार रुपिया बराबरको घातक रोग बीमा समावेश छ । यो बीमाको मान्यता पनि खरिद मितिबाट ३० दिनसम्म रहन्छ ।

ग्राहकले एनसेल एप मार्फत आफ्नो मनपर्ने प्याक रोजी, बीमाका लागि फारम भरेर सजिलै यी प्याकमध्ये कुनै एक लिन सक्छन् । साथै, १२३४८६३ डायल गरेर पनि यी प्याकहरू खरिद गर्न सकिन्छ । बीमाको म्यादी जीवन बीमा प्याक खरिद गरेलगत्तै सक्रिय हुन्छ भने घातक रोग बीमा ३० दिनको प्रतीक्षा अवधिपछि लागू हुन्छ ।

यो साझेदारीले एनसेल प्रयोगकर्ताका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेष गरी, लामो समयदेखि बीमाको पहुँचबाट वञ्चित रहेका ग्रामीण तथा दुर्गम समुदायका ग्राहकका लागि यो योजना महत्वपूर्ण कदम मानिएको छ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया र प्रभावकारी बीमा सुविधासहितको “डाटासँगै जीवन बीमा” योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फ नयाँ यात्रा आरम्भ गरेको छ ।

एनसेलका मुख्य ग्राहक व्यवसाय अधिकृत (चिफ कन्जुमर बिजनेस अफिसर) उपङ्ग दत्तका अनुसार, “मेटलाइफ नेपालसँगको सहकार्यमा बीमा सुरक्षा सहितको सेवा देशभरका ग्राहकलाई दिन पाउँदा हामी अत्यन्त खुशी छौं । यो साझेदारीले नेपाली समाजका तल्ला तहसम्म पुगेर बीमा पहुँच विस्तार गर्ने हाम्रो सामाजिक प्रतिबद्धता पूरा गर्न मद्दत गर्नेछ । आफ्ना ग्राहकको जीवनमा मूल्य सिर्जना गर्नु नै हाम्रो कार्यको केन्द्रबिन्दु हो,” उनले बताउनुभयो ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत (चीफ डिस्ट्रीब्युसन अफिसर) अरुण बहादुर बस्नेतले भन्नुभयो,“हामी ‘सुरक्षा सबैको अधिकार हो, सुविधा होइन’ भन्ने विश्वास गर्छौं। यस साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईं र तपाईंको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्रदान गर्नु हो ।”

एनसेलको बारेमा

एनसेल सन् २००४ मा स्थापना भई २००५ देखि सेवा प्रदान गर्दै आएको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक हो। प्रत्येक नेपालीलाई कनेक्टिभिटीका माध्यमबाट जोड्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आइरहेको छ । स्पेक्ट्रलाइट युके लिमिटेड सँग सहकार्यमा एनसेलले नेपाली उपभोक्ताहरूका लागि नविनतम डिजिटल सेवा, लगानी र जीवनलाई सहज र समृद्ध बनाउने उद्देश्यसहित विविध सेवा विस्तार गर्दै आएको छ ।

डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट युके लिमिटेडले रेनल्ड्स होल्डिङ्स लिमिटेड को १०० प्रतिशत स्वामित्व प्राप्त गरेको थियो। रेनल्ड्स होल्डिङ्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ । एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो। कम्पनीले हालसम्म सरकारलाई कर तथा शुल्कका रूपमा ३६० अर्ब रुपैयाँभन्दा बढी बुझाइसकेको छ । साथै, एनसेल फाउन्डेसन मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, कला र संस्कृति संरक्षणमा करिब २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको छ । यी प्रयासहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिमा सहयोग पु¥याइरहेका छन् ।

मेटलाइफको बारेमा

मेटलाइफ विश्वका अग्रणी वित्तीय सेवा प्रदायक कम्पनीहरू मध्ये एक हो, जसले बीमा, एन्युटी (जीवन भत्ता), कर्मचारी लाभ योजना र सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्छ । सन् १८६८ मा स्थापना भएको यो कम्पनी अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वका ४० भन्दा बढी देशमा सेवा प्रदान गर्दै आएको छ ।