चे ग्वेभारा, यो केवल एउटा नाम मात्रै होइन, यो इतिहासको एउटा ज्वालामुखी हो जसले अन्याय र उत्पीडनको पर्खाल चि¥दै स्वतन्त्रताको ज्वाला विस्फोट गराए । उनी शहीद हुन्, जसले उत्पीडितका लागि जीवन बलिदान गरे । अरूका लागि उनी कठोर विचारधारामा अडिग क्रान्तिकारी हुन्, जसले शक्तिशाली साम्राज्यहरूलाई चुनौती दिए । तर निसन्देह, एर्नेस्टो “चे” ग्वेभारा मानव इतिहासका ती दुर्लभ पात्रहरूमध्ये एक हुन्, जसले शब्दभन्दा बढी कर्मले विश्वलाई बदल्न खोजे ।
बाल्यकाल र संघर्षको शुरुवात
अर्जेन्टिनाको रोसारियोमा अर्जेन्टीनी फुटबल लेजेन्ड लिओनेल मेसी जन्मिनुभन्दा ५९ वर्ष अगाडी अर्थात १४ जून १९२८ मा जन्मेका एर्नेस्टो ग्वेभारा दे ला सेर्ना एक मध्यवर्गीय परिवारका सदस्य थिए । उनी एक शिक्षित परिवारका सन्तान थिए । बाल्यकालमा दम रोगले सताउँथ्यो, तर त्यो रोग उनको इच्छाशक्तिसामु असहाय बन्यो । सास फेर्न पनि कठिन हुने बालकले कहिल्यै जीवनका कठिनाइहरूसँग सम्झौता गरेनन् । बरु, त्यही संघर्षले उनको हृदयमा दृढता र विद्रोहको बीउ रोप्यो।
किशोर अवस्थामा पुगेपछि उनले देखेका समाजका विभेद र अन्यायले उनको चेतनालाई हल्लायो । उनले बुझ्न थाले, मानव जीवन केवल अस्तित्वको संघर्ष मात्रै होइन, न्यायको लडाइँ पनि हो भनेर । अर्जेन्टिनामा ह्वान पेरेनको शासनविरुद्ध भएका आन्दोलनहरूले उनलाई राजनीतिक चेतनाको पहिलो पाठ पढाए ।

‘मोटरसाइकल डायरी’ बाट जन्मिएको क्रान्तिकारी आत्मा
सन १९५१ मा चिकित्सा अध्ययनको क्रममा उनले आफ्ना साथी अल्बेर्टो ग्रानाडोसँग मोटरसाइकलमा दक्षिण अमेरिकाको यात्रा गरे । नौ महिनाको त्यो यात्रा उनका लागि केवल भौगोलिक यात्रा मात्र बनेन, आत्मिक पुनर्जन्म पनि थियो । चिलीका गरिव मजदुर, बोलिभियाका पीडित किसान, पेरूका रोगग्रस्त बालबालिका, यी सबै उनका लागि पुस्तकका पात्र होइनन्, जीवित वास्तविकता थिए । उनले महसुस गरे, सत्यको उपचार औषधिले होइन, अन्यायविरुद्धको विद्रोहले मात्र सम्भव छ भनेर । त्यो क्षणदेखि डाक्टर एर्नेस्टो ग्वेभारा “चे ग्वेभारा” बन्ने यात्रामा लागे ।
क्यूबा क्रान्ति
सन १९५४ मा ग्वाटेमालामा अमेरिकी हस्तक्षेपले उनलाई गहिरो घाउ दियो । उनले देखे, साम्राज्यवाद केवल नीति होइन, उत्पीडनको प्रणाली हो । यही आक्रोशले उनलाई मेक्सिको पु¥यायो, जहाँ उनको भेट भयो दुई दाजुभाइ फिडेल र राउल कास्त्रोसँग । तीन विद्रोहीहरूबीचको त्यो भेट इतिहासकै निर्णायक मोड सावित बन्यो । सन १९५६ मा “२६ जुलाई आन्दोलन” सुरु भयो । आरम्भमै धेरै साथीहरू मारिए, तर चे र केही क्रान्तिकारीहरू सिएरा माएस्त्राका पहाडहरूमा बाँच्न सफल भए । त्यहींबाट सुरु भयो गुरिल्ला युद्धको नयाँ अध्याय । चे केवल चिकित्सक, शिक्षक र रणनीतिकार मात्र रहेनन्, उनी एक लडाकु पनि बने । दुई वर्षको संघर्षपछि सन १९५९ मा बतिस्ता शासन ढल्यो र क्यूबामा नयाँ बिहानीको सूर्य उदायो ।
राष्ट्रनिर्माण र विचारको गहिराइ
क्यूबा स्वतन्त्र भएपछि चेले सत्ता होइन, परिवर्तनको बाटो रोजे । उनले कृषि सुधार, औद्योगिक योजना र समाजवादी अर्थतन्त्रको जग बसाल्न योगदान दिए । क्यूबाको राष्ट्रिय बैंकका अध्यक्ष हुँदै उद्योग मन्त्रीसम्म बने पनि उनी कहिल्यै विलासितामा रमाएनन् । उनको सादगी र आत्मानुशासनले उनलाई जनताको हितैषी “चे” बनायो । उनका लेखहरू “गुरिल्ला युद्ध” र “क्यूबामा मानव र समाजवाद” केवल पुस्तक मात्रै होइनन्, ती क्रान्तिकारी दर्शनका घोषणापत्र हुन् । उनले साँचो क्रान्तिकारी प्रेम बिना सम्भव छैन भनेर माने । तर, प्रेमको उनको परिभाषा समाज र मानवीय सम्मानका लागि संघर्षमा बाँधिएको थियो ।
बोलिभियाको जंगलमा अन्तिम यात्रा
सन १९६५ पछि चेले पुनः क्रान्तिको मार्ग परिवर्तन गरे । उनलाई लाग्यो, क्यूबामा क्रान्ति सफल भयो, तर ल्याटिन अमेरिकाका बाँकी देशहरू अझै अन्धकारमा थिए । त्यसैले उनी बोलिभिया गए, जहाँ उनले नयाँ गुरिल्ला आन्दोलन सुरु गरे । तर, परिस्थिति प्रतिकूल भयो । समर्थनको कमी र विश्वासघातले आन्दोलन कमजोर बन्यो । ८ अक्टोबर १९६७ मा उनी पक्राउ परे । त्यसको अर्को दिन, ९ अक्टोबरमा सीआईएको सहयोगमा बोलिभियाली सेनाले उनलाई गोली हानेर मारिदियो । तर, मृत्युले चे ग्वेभारालाई रोक्न सकेन । उनको अनुहार आज पनि भित्तामा, टिसर्टमा, पुस्तकमा, र मानिसहरूको चेतनामा जिउँदो छ । कतिपयका लागि उनी ‘हिंसाको प्रतीक’ हुन्, तर लाखौंका लागि उनी “न्याय र प्रतिरोधको आवाज” बने । चे ग्वेभारा कुनै युगको अन्त्य होइनन्, उनी हरेक युगको प्रश्न हुन् । जबसम्म अन्याय रहन्छ, जबसम्म समानताको सपना अधुरो रहन्छ, चे ग्वेभाराको विचारले हरेक विद्रोही हृदयमा पुनर्जन्म लिइरहेको इतिहास साक्षी छ ।











प्रतिक्रिया