बाजुरा।
बुढीगंगा नगरपालिका ७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । स्थानीय सिर्जना केसीलाई बाटोमै सुत्केरी व्यथा लागेपछि अनमी बिनिता बिष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिएको स्थानीय विष्णुभक्त जैशीले बताए ।
बिहीवार दिउँसो आफन्तले सिर्जनालाई स्वास्थ्य चौकी लिदै गर्दा घर नजिकै बाटोमा व्यथा लागेको थियो । उनका आफन्तले सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । खबर पाए लगत्तै अनमी बिनिता बिष्ट दौडेर त्याँहा पुगेकी थिइन् ।
बिनिताले भनिन्, आफू पुगिसक्दा बच्चा भइसकेको थियो । साल निकालेर सालनालको व्यबस्थापन गरें ।सुत्केरी बच्चाको स्वास्थ्य अवस्था चेकजाँच गर्दा सबै सामान्य रहेको थियो उनले भनिन् । बच्चा र आमाको अवस्था राम्रो नै थियो, तत्काल नै घर पठाएको बताइन् ।
बिनिता सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । अहिले उनी स्वास्थ्य संस्थामा एक्लै कार्यरत छन् । आफन्तले बोकेर स्वास्थ्य संस्था पुगाउन नसक्ने भनेपछि सुत्केरी गराउने आवश्यक सामान बोकेर बच्चा पाउने ठाउँमा पुगेको उनले भनिन् । बाटो तथा घरमा गएर सुत्केरी गराउनु पर्ने त हैन्, परिस्थितिवश मानवीय नाताले बाटोमै सेवा दिएको बताइन् । सिर्जना जस्तै बाजुरामा धेरै आमाले बाटो, मेलापात र घरमा बच्चा जन्माउन बाध्य छन्।
अस्पताल तथा बर्थिङसेन्टरमा बच्चा जन्माए आमा बच्चा दुबै सुरक्षित हुने र सुत्केरी भत्ता अनि न्यानो कपडा पाउने आशामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा सुरक्षित बच्चा पाउने सुत्केरीको संख्यामा वृद्धि भएको छ स्वास्थ्यकर्मी निशा रोकायले भनिन् । यद्यपि सुत्केरी बेथाले च्यापिसकेपछि अन्तिम घडीमा मात्र घरबाट ल्याउँछन्। यो जोखिम हो । यहाँ भौगोलिक विकटता छ , समयमा स्वास्थ्य संस्थामा पुग्न नसक्दा बाजुराका केही महिलाले बाटोमै बच्चा जन्माउनु पर्ने विवशता पनि छ उनले भनिन् ।
बुढीगंगा नगरपालिकाले कार्तिक १ गते बाट सबै करार कर्मचारी हटाउने निर्णयपछि सिमकोट आधारभूत स्वास्थ्य केन्द्रमा अनमी बिनिता बिष्ट एक्लै मात्र कार्यरत छन् । कार्यालय सहयोगी समेत नभएकाले उनले एक्लैले सबै सेवा दिनु पर्ने बाध्यता रहेको छ ।सो संस्थामा एक जना अहेब, एकजना अनमी र दुई जना कार्यालय सहयोगी कार्यरत थिए । करार कर्मचारी हटाउने निर्णय अनुसार एक जना अहेब र २ जना कार्यालय सहयोगी हटेका थिए । गर्भवती सेवा देखि बिरामी चेकजाँच, उपचार देखि स्वास्थ्य संस्था सरसफाई एक्लै अनमी गरी रहेकी छन् ।
नगरपालिकाले करार कर्मचारी हटाएपछि सबैभन्दा असर स्वास्थ्य संस्थामा परेको छ । नगरपालिका ८ स्वास्थ्य संस्थामा एकजना स्वास्थ्यकर्मीको भरमा चलेका छन् । ती स्वास्थ्य संस्थामा कार्यालय सहयोगी समेत छैनन् । त्यस्तै ३ वटा स्वास्थ्य संस्था बन्द रहेको सूचना अधिकारी विष्णु प्रसाद जैशीले बताएका छन् ।











प्रतिक्रिया