चुनावको सुरक्षाबारे निर्वाचन आयोगमा छलफल


काठमाडौँ।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा सुनिश्चित गर्न निर्वाचन आयोगमा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। निर्वाचन आयुक्त सगुन शम्शेर ज.ब.रा. को संयोजकत्वमा सम्पन्न भएको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, आयोगका सचिव माहादेव पन्थ, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव सुमनराज अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, सशास्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर गुरुङको उपस्थिति रहेको थियो।

बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न सुरक्षा निकायहरु योजनावद्ध रुपमा कार्य प्रारम्भ गरिसकेको जानकारी गराईएको थियो। प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा जिल्ला सुरक्षा समितिले स्थानीय सुरक्षा आवश्यकता तथा मतदान केन्द्रहरुको संवेदनशीलताका आधारमा सुरक्षा योजना बनाईरहेको जनाईएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदान पूर्व, मतदानको अवधि र मतदान पश्चातको समयमा भरपर्दो सुरक्षाका लागि सबै सुरक्षा निकाय समन्वयात्मक रुपमा परिचालन गर्नेगरी आवश्यक तयारी गर्न निर्देशन दिए।

निर्वाचन आयुक्त सगुन शम्शेर ज.ब.राले स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनको लागि भयरहित वातावरण तयार गरी तोकिएको समयमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताउदै त्यसका लागि समन्वयात्मक र योजनावद्धरुपमा कार्य गर्न आग्रह गरे।